एजेन्सी, पुस ३०
जरी इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरल म्यानचेस्टर युनाइटेडसँग १–०को हार बेहोरेको छ । टोटेनहम आफ्नै घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग १–० ले पराजित भएको हो ।
वेम्वली मैदानमा आइतबार राति भएको खेलमा युनाइटेडको जितमा मार्कुस रासफोर्डले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको ४४औं मिनेटमा रासफोर्डले पल पोग्वाको लामो पासलाई नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए ।
एक गोलले पछि परेपछि घरेलु टोलीले युनाइटेडलाई दवावमा राखेपनि टोटेनहम गोल गर्नबाट असमर्थ बन्यो र लिगमा हार बेहोर्न पुग्यो । टोटेनहमले युनाइटेडको पोस्टमा २१ सट प्रहार गरेपनि गोलरक्षक डेभिड हे जिया लगातार बाधक बने ।
अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजर नियुक्त भएसँगै युनाइटेडको यो लगातार छैटौ जित हो । जितसँगै युनाइटेडले २२ खेलबाट ४१ अंक जोडेर पाँचौ स्थानमा रहेको आर्सनलसँगको अंक बराबरी गरेको छ । युनाइटेडसँग पराजित भएको टोटेनहम ४८ अंकसहति तेस्रो स्थानमा यथावत छ ।
।