विराटनगर, माघ ७
आगामी फागुनमा विराटनगरमा दोस्रो विराट फुड फेस्टा हुने भएको छ । भाजु युवराज फाउण्डेसन र एन वाई इ एफको संयुक्त आयोजनामा हुन लागेको फुड फेस्टा फागुन २ गतेदेखि ४ गतेसम्म विराटनगरको होटल नमस्कारमा चल्ने विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।
फुड फेस्टामा नेवारी, मारवाडी, मगर , थारु राजवंशी, मुस्लिम लगायत विभिन्न समुदायका स्वादिष्ट खानाका साथै चाईनिज, इण्डियन, कन्टिनेन्टल खानाका स्टलहरु रहने भाजु युवराज फाउण्डेसनका अध्यक्ष युनेशराज श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार फुड फेस्टामा विभिन्न स्थानीय तथा राष्ट्रिय गायक गायिकाहरुले सांगितिक प्रस्तुती दिनेछन् ।
फुड फेस्टामा अवलोकन गर्ने ब्यक्तिहरुले आफुलाई मन पर्ने डिस रोजेर मिठा परिकारहरु मिठास लिन सक्ने तथा सांगितिक माहोलमा रमाउन सक्ने उनले बताए । सो फुड फेस्टामा बालबालिकाका लागि किड्स जोन पनि हुनेछ ।ब्यापारिक हिसाबले मात्र नभई विभिन्न जातजातिका परिकारहरुको प्रवद्र्धनका लागि फुड फेस्टा गर्न लागिएको आयोजकले जनाएको छ ।
७० देखि ८० वटासम्म परिकारका स्टलहरु रहने सो फुड फेस्टामा करिब १५ हजार मानिसहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ ।फुड फेस्टामा प्रवेशका लागि टिकट स्वरुप रु.५० लाग्ने छ । ३ दिनसम्म चल्ने फेस्टाको ब्यवस्थापकीय जिम्मा मञ्जिना मुभिज क्रियसनले लिएको छ ।