विराटनगर, माघ ११
विराटनगर स्थित एभरेष्ट सेकेण्डरी स्कुलले आफ्नो २५ औँ वार्षिक उत्सव (रजत जयन्ती) तथा अभिभावक भेला भव्य रुपमा सम्पन्न गरेको छ । विराटनगर–५ मा रहेको विद्यालयको नयाँ भवन निर्माणस्थलमा दुई दिनसम्म चलेको वार्षिक उत्सव तथा अभिभावक भेला आज सम्पन्न भएको हो ।
विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थितिमा सम्पन्न महोत्सवमा विद्यार्थीहरुले नृत्य, गायन लगायत विभिन्न मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले आफुले पनि ३७ वर्ष लामो अध्यापन पेशा गरेको बताउँदै केही अनुभवहरु सुनाएका थिए । उनले एभरेष्टले विद्यार्थीलाई दिएको गुणस्तरीय शिक्षाका कारण आज यस ठाउँमा उभिएको बताउँदै भविष्यमा सफलताको शुभकामना दिएका थिए ।
रजत महोत्सवमा आयोजित कार्यक्रममा बोल्दै एभरेष्ट स्कुलका प्राचार्य टिकाराम पुरीले शिक्षालाई सिप र प्रविधिसँग जोड्ने कुरामा आफुहरु अगाडि बढेको बताए । उनले तीन विघा जग्गामा स्कुलले नयाँ प्रोजेक्ट सुरु गरेको जानकारी दिँदै युरोपियन र अमेरिकन सिस्टममा आधारिक अत्याधुनिक सुविधा सम्पन्न भवन बनाउने बताए ।
एभरेष्ट स्कुलका अध्यक्ष विनोद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पुर्व सांसद हर्कमान तामाङ, एभरेष्टका पुर्वप्रध्यानाध्यापक धु्रवकुमार सुवेदी, शिक्षिका देवीमाया ढकाल र कार्यालय सहायक मञ्जु थापालाई विशेष सम्मानद्धारा सम्मानित गरिएको थियो ।
रजत महोत्सवको पहिलो दिन जिल्ला समन्वय समितिका प्रमुख नरेशकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।
२०५० साल पुसमा स्थापना भएको एभरेष्टले हाल नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन गराउँदै आईरहेको छ । हाल विद्यालयमा २५ सय विद्यार्थी अध्ययनरत छन् भने २ सय५० जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् ।