काठमाडौँ, माघ २९
अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले सोमवार टिकाटालो गरेका छन् । ७ वर्ष लामो प्रेम सम्बन्धलाई आउँदो फागुन २ गते प्रेम दिवसको दिन विवाहमा परिणत गर्न लागेका उनीहरुले दुबै परिवारको उपस्थितिमा एकअर्कालाई औंठी लगाएका हुन् ।
इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै वर्षा र संजोगले आ–आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’
उनीहरुले आफूहरुको संयूक्त नाम समेत जुराएका छन् । दुईले संयूक्त नाम ‘सन्सा’ राखेका छन् । केही हप्ता अगाडि यो जोडीले फरक शैलीमा निमन्त्रणा कार्डमार्फत् विवाहको मिति घोषणा गरेका थिए ।
अहिले उनीहरुलाई चलचित्रकर्मी तथा शुभचिन्तकहरुको बधाई तथा शुभकामनाको ओहिरो लागेको छ ।७ वर्ष अगाडि एक फिल्मको अडिसनको क्रममा संजोग र वर्षाको पहिलो पटक भेट भएको थियो । पहिलो भेटबाटै उनीहरु एकअर्कासँग नजिक भए । अभिनेत्री वर्षाले विवाहपछि पनि फिल्ममा सक्रिय रहने बाचा गरेकी छन् ।