टिपर चालकलाई अनुशिक्षण अभियान शुरु

टिपर चालकलाई अनुशिक्षण अभियान शुरु

बिराटनगर, फागुन ८
टिपर चालकहरुलाई नियमन गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा टिपर चालक नियमन तथा अनुशिक्षण कार्यक्रमको सुरुवात गरेको छ । आज बिहान ईलाका प्रहरी कार्यालय निमुवाको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी उक्त अभियानको थालनी गरिएको हो ।

टिपरका कारण सडक दुर्घटना बढेको जनगुनासाहरु आउन थालेपछि टिपर चालकहरुलाई नियमन गर्नका लागि उक्त अभियानको थालनी गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले जानकारी दिए ।

कार्यक्रम सञ्चालन गर्न ईलाका प्रहरी कार्यालय नेमुवामा ट्राफिक प्रहरीसहितको छुट्टै युनिट खडा गरि परिचालित गरिने र ट्राफिक प्रहरीले चालक योग्य भए नभएको, चालकसंग लाइसेन्स भए नभएको,चालकले लाइसेन्स पाएको अवधी, चालकहरूको शारीरिक तथा मानसिक अवस्था यकिन गर्ने, सवारी साधनको यान्त्रिक अवस्था यकिन गर्ने, टिपर चालक तथा सवारी धनीको बिवरण संकलन गर्ने, शैक्षिक योग्यता तथा चालकको उमेरको बारेमा अभिलेख तयार गरी चालकलाई दुर्घटना न्यूनीकरणका लागि अपनाउनु पर्ने सावधानी, तीब्र गतिका कारण हुने दुर्घटनाका बारेमा हरेक दिन १५ मिनेट अनुशिक्षण दिईने उनले बताए ।

कार्यक्रममा पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीले टिपरका कारण बढिरहेका दुर्घटना न्यूनीकरण गर्न आफूहरुले पनि सहयोग गर्ने बताउँदै टिपर चालकहरुलाई आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्ने हिसाबमा टिपर कुदाउन आग्रह गरेका थिए । कार्यक्रममा बुढिगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले हालको परिवेशमा हरेक सवारी साधनले संयमता अपनाउनु पर्ने बताएका थिए । कार्यक्रममा स्थानीय जन–प्रतिनिधी, स्थानीयवासीहरु, टिपर चालक तथा पत्रकार लगायत करिव २०० जनाको सहभागीता रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.