‘रियल अझै पनि ला लिगाको उपाधिका लागि बार्सिलोनासँग लड्छ’

‘रियल अझै पनि ला लिगाको उपाधिका लागि बार्सिलोनासँग लड्छ’

एजेन्सी, फागुन १०
स्पेनिस रियल मड्रिडका गोलरक्षक थिबाउट कोर्टुवाले आफूहरू अझै पनि ला लिगाको उपाधि होडमै रहेको बताएका छन् । आज वर्ष २०१८ का लागि उत्कृष्ट गोलरक्षकको अवार्ड थापेपछि स्पेनिस मिडियासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

ला लिगामा २४ खेल सकिँदा रियल अहिले अंक तालिकामा शीर्ष टोली बार्सिलोनाभन्दा ९ अंकले पछि परेको छ । लिगमा अब १४ खेल बाँकी छन् । यो सिजनको दोस्रो इएल क्लासिको हुनै बाँकी छ ।

यस्तो अवस्थामा कोर्टुवा भने रियल अझै पनि लिगको उपाधि दौडमा रहेको दाबी गर्छन् । ‘अंकका हिसाबले हामी अहिले निकै पछि छौं । यो दूरी सानो होइन,’ कोर्टुवाले भने, ‘तर, हामी अझै पनि लिगमा पुनरागमन गर्न सकिन्छ भन्नेमै छौं । किनभने, हामीसँग अझै १४ खेल बाँकी छन् ।’

कार्टुवाले पछिल्लोपटक लिगमा जिरोनासँग पराजित हुँदा सुनौलो ३ अंक गुम्दा उपाधि होडमा धक्का लागेको बताए । ‘जिरोनासँग अंक गुमाउँदा हामीलाई ठूलो धक्का लाग्यो, त्यो ३ अंक हाम्रा लागि सुनौलो अंक थियो,’ कोर्टुवाले थपे ।

बेल्जियमको राष्ट्रिय टोलीका गोलरक्षकसमेत रहेका कार्टुवाले लिग लिडर बार्सिलोना अहिले उत्कृष्ट लयमा नरहेकाले उसले कहीं न कहीं कमजोरी गर्ने र त्यसबेला आफूहरूले फाइदा लिन सक्ने बताए । ‘बार्सिलोनासँग अहिले ९ अंकको अग्रता छ । तर, हामी सही समयको प्रतीक्षामा छौं,’ उनले भने, ‘हामी अबका बाँकी सबै खेल जित्न चाहन्छौं ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.