विराटनगर, फागुन १२
पाकिस्तान सुपर लिग पीएसलमा नेपालका सन्दीप लामिछानेले किफायती बलिङ प्रदर्शन गर्दा लाहोर कलन्दर्स भने अन्तिम बलमा पराजित भएको छ । अघिल्लो दिन डेविड वाइजले अन्तिम बलमा छक्का प्रहार गर्दै लाहोरलाई मुल्तान सुल्तान विरुद्ध जित दिलाएका थिए तर शनिवार क्वेट्टा ग्लाडिएटर्स विरुद्धको खेलमा भने उनै वाइजले अन्तिम बलमा छक्का खर्चिएपछि लाहोर ३ विकेटले पराजित भयो। अन्तिम ओभरमा क्वेट्टलाई ६ बलमा ७ रन चाहिएको थियो ।
पहिलो बलमा वाइजले अनवर अलीलाई आउट गर्दै खेलमा रोमाञ्चकता ल्याए। त्यसपछिको चार बलमा उनले ५ रन खर्चे। त्यसपछि अन्तिम बलमा क्वेट्टलाई जितका लागि २ रन चािहएको थियो । एक रनले खेल बराबरी हुने थियो भने डट बल भए लाहोरले जित्ने थियो। तर वाइजको अन्तिम बलमा सर्फराजले छक्का प्रहार गर्दै जित दिलाए ।
यस खेलमा सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए। बलिङ भन्दा पहिले ब्याटिङ गरेका सन्दीपले ५ बल खेल्दै नटआउट ५ रन बनाएका थिए । उनले कप्तान ए बी डे भिलियर्ससँग आठौँ विकेटका लागि ७ रनको साझेदारी गरेका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको लाहोरले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो। अघिल्लो दिन २०१ रनको लक्ष्य पुरा गर्दै जित हात पारेको लाहोरले आज भने राम्रो ब्याटिङ गर्न सकेन । लाहोरका लागि डे भिलियर्सले नटआउट ४५ रन बनाए भने सोहेल अख्तरले २९ रन जोडे । क्वेट्टजाका घुलाम मुदासारले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । जवाफमा १४४ रनको लक्ष्य पछ्याएको क्वेट्टाले अन्तिम बलमा सर्फराज अहेमदले छक्का प्रहार गरेपछि जित हात र्पायो ।
सर्फराजले ३६ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा नटआउट ५२ रन योगदान गरे । त्यस्तै अहसन अलीले ४० रन बनाए । उनै अहसनलाई सन्दीपले १२औँ ओभरमा बोल्ड गरेका थिए। सन्दीपले २४ बल बलिङ गर्दा ११ बल डट फालेका थिए भने एक छक्का खर्चिएका थिए ।
पिएसएल ४ मा अपराजित रहँदै ४ खेल जितेको क्वेट्टा ८ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा छ। उता पाँच खेल खेल्दा तेस्रो हार बेहवरेको लाहोर कलन्दर्स भने ४ अंकका साथ चौथो स्थानमा झरेको छ ।