काठमाडौँ : काठमाडौँ उपत्यकाको सुरक्षा संवेदनशीलतालाई विचार गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट बाहिरिने र भित्रिने हेलिकोप्टर उडानका लागि ‘हेली लेन’ कार्यान्वयनमा ल्याएको छ ।
‘हेली लेन’ कार्यान्वयनसँगै राष्ट्रपति भवन र भक्तपुर गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलमाथिबाट हेलिकोप्टर उडान गर्न पाइने छैन भने तोकिएको उचाईमा मात्र हवाइजहाजको उडान गर्न पाइने छ । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै यी दुई स्थानलाई नयाँ ‘हेली लेन’ भित्र समावेश गरिएको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले राष्ट्रपति भवन र भक्तपुरको गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारणको माथिबाट हेलिकोप्टर उडान नगर्ने गरी ‘हेली लेन’ कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । सरकारले राष्ट्रपति भवन र गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थललाई सुरक्षा दृष्टिकोणले काठमाडौँ उपत्यकाको प्रमुख संवेदनशील स्थलको रूपमा सूचीकृत गरेको छ ।
उहाँले ‘हेली लेन’ को कार्यान्वयनसँगै राष्ट्रपति कार्यालय, शीतल निवासभन्दा एकहजार फिट माथि हवाईजहाज उडाउन पाइने, तर हेलिकोप्टर कुनै पनि उचाईमा उडान गर्न नपाइने जानकारी दिनुभयो । त्यसैगरी, गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलभन्दा एक हजार पाँचसय फिटमाथि हवाईजहाज उडाउन गर्न पाइन्छ भने हेलिकोप्टर कुनै पनि उचाईमा उडान गर्न पाइने छैन ।”
राष्ट्रपति कार्यालय र नेपाली सेनाको हातहतियार भण्डारण स्थल बाहेकका हवाइ रुटलाई यथावत राखिएको बताउँदै उहाँले काठमाडौंबाट बाहिरिने हेलिकोप्टरका लागि उपत्यकाको पूर्वमा साँगा र नालामाथिको दुईवटा रुट थप गरिएको जानकारी समेत दिनुभयो ।,आजकाे गाेरखापत्रमा खबर छ।