काठमाडौँ, फागुन १३
रोजगार संयोजकको नतिजा सार्वजनिक भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक रोजगार संयोजकको नतीजा सोमबार प्रकाशित भएको हो ।प्रकाशित नतीजामा माग संख्याभन्दा कम उत्तीर्ण भएका छन् ।
कम उर्तीण भएपछि पछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्काल सबै स्थानीय तहमा रोजगार संयोजक पठाउन नसक्ने भएको छ । मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहका लागि रोजगार संयोजकको माग गरेको थियो। जसमध्ये ५ सय २१ जना मात्रै उत्तीर्ण भए।
अब मन्त्रालयले ५ सय २१ स्थानीय तहमा मात्रै रोजगार संयोजक पठाउने भएको हो । पहिलोपटक विद्युतीय भर्ना प्रणाली अपनाएरु पदपूर्तिको लागि परीक्षा लिइएको थियो ।
प्रदेश १ मा शाखा अधिकृत १ सय ३० र नासु सरह ८ जना चाहिनेमा क्रमशः ६७ र ५ जना मात्रै उर्तिण भए। प्रदेश २ मा १३६ शाखा अधिकृत चाहिनेमा ९८ जना, प्रदेश ३ मा शाखा अधिकृत ११२ र नासु सरह ७ जना चाहिनेमा क्रमशः ९५ र ७ जना,गण्डकी प्रदेशमा शाखा अधिकृत ७४ र नासु सरह ११ चाहिनेमा क्रमशः ६४ र ११ जना उर्तिण भए।
प्रदेश ५ मा चाहिएको १ सय ९ जना नै उत्तिर्ण भए। कर्णाली प्रदेशमा शाखा अधिकृत ६२ जना र नासु सरह १७ जना चाहिनेमा क्रमशः २० र ९, सुदुरपश्चिममा शाखा अधिकृत ६२ र ६ जना चाहिनेमा ३३ र ६ जना मात्र उत्तिर्ण भए।
मन्त्रालयले एक वर्ष करार भर्ना गर्न गत माघ ४ गते विज्ञापन गरेको थियो। जसमा २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका थिए।