पोखरा, फागुन १७
ताप्लेजुङको फुङ्लिङस्थित सिस्नेभिरमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार गरिएको छ । मन्त्री अधिकारीको पोखराको रामघाटस्थित सेती नदीको किनारमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको हो ।
उनको पार्थिव शरीरमा श्रीमति विद्या र छोराले दागबत्ति दिएका छन् ।रामघाटमा मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या, छोराहरु विराज र स्वराजले दागबत्ति दिँदै अन्तिम बिदाइ गरे ।रामघाट लानुअघि अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पोखराकै प्रदर्शनी केन्द्रमा राखिएको थियो । प्रदर्शनी केन्द्रमा प्रिय नेतालाई श्रद्धाञ्जली दिन हजारौँको संख्यामा नेता, कार्यकर्ता र स्थानीयबासी उर्लिएका थिए । अधिकारीसहित हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव श्रद्धाञ्जलीका शुक्रबार बिहान काठमाडौंको टुँडिखेलमा राखिएको थियो । तीमध्ये चारजनाको पशुपति आर्यघाटमा दाहसंस्कार भइसकेको छ ।
टुँडिखेलमा श्रद्धाञ्जली दिएपछि नेपाली सेनाको स्काई ट्रकबाट अधिकारीको शव गृहनगर पोखरा र्पुयाइएको थियो । रामघाट लानुअघि मन्त्री अधिकारीको पार्थिव शरिरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाएका थिए । त्यसैगरी नेकपा नेता बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएका थिए ।