काठमाडौँ, चैत ४
आगामी वैशाख ७ देखी १४ गतेसम्म विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा एनसिएल वोमन्स टि–२० क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । आयोजक एनसिएल स्पोट्र्स प्राईभेट लिमिटेडले काठमाडौंमा आज एक पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने बारे जानकारी गराएको हो ।
प्रतियोगितामा ४ सहरका ४ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ । प्रतियोगितामा विराटनगर रोअरिङ लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन र काठमाडौ सुपर च्याम्पियन्स गरि चार टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री (भैरहवा), सिता रानामगर (धनगढी), नेरि थापा(काठमाडौं),करुणा भन्डारी (विराटनगर) टोलीको मार्की खेलाडीका रुपमा रहेका छन् ।
सहभागी टोलीका मालिकहरुमा अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस), दीपक सुवेदी र अनिल भण्डारी (भैरहवा क्विन्स), हरि खनाल (धनगढी वन्डर वोमेन) र नायिका रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन् ।
टोलीको खेलाडी छनोटका लागि केहि दिनमा अक्सन हुने जनाईएको छ । प्रतियोगितामा ग्रेड ए, बी र सी गरि तीन तहमा विभाजन गरिएको छ । अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्युनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रुपैयाँ रहनेछ । बी ग्रेडका खेलाडीको न्युनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ रहनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहनेछ ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको प्लयेर अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । एनसिएल स्पोट्र्सले एसियाकै पहिलो महिला फ्रेन्चाइज्ड लिग हुन लागेको दाबी पनि गरेको छ । यस भन्दा अघि चैत्र १ गते हुने भनिएको यस प्रतियोगिता मुख्यमन्त्री कप र यसै महिना प्रदेश ५ मा आयोजना हुने आठौ राष्ट्रिय खेलकुदका कारण चैत्र १ देखि ९ सम्मका लागि तय भएको क्रिकेट निर्धारित मितिमा हुन नसकेको आयोजकले जनाएको छ ।