एजेन्सी,चैत ५
अफ्रिकाका मोजाम्बिकलगायत देशहरू भीषण वर्षापछि आएको इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा मात्रै १ हजारभन्दा बढीको ज्यान गएको छ भने जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन् । मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले आँधीका कारण १ हजार बढीको ज्यान गएको पुष्टि गरेका छन् ।
सोमबार प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका नुसीले आँधीले विध्वंस मच्चाएको बताएका छन् ।आफूले भ्रमणका क्रममा पानीमा तैरिरहेका शवहरू देखेको उनले बताएका छन् । बिहीबार ठूलो वर्षापछि प्रतिघण्टा १७७ किलोमिटरको बेगमा आँधी आएको थियो । बीबीसीका अनुसार, आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा ठूलो क्षति पुगेको छ । जिम्बाब्बे, मलाबी पनि प्रभावित भएको छ ।
आँधीले अफ्रिकाका दक्षिणी भेग पनि प्रभावित भएका छन्, जहाँ १८० जनाको मृत्यु भएको बताइएको छ । जिम्बाब्बेमा ९८ जनाको ज्यान गएको र २१७ जना हराइरहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उद्धारमा सहभागी यूएन एडका एक कर्मचारीका अनुसार बेयराका पाँच लाख मानिसको घर क्षतिग्रस्त भएको बताएका छन् । आँधीपछि त्यहाँ मानवीय संकट देखापरेका छन् ।
अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमका अनुसार, कतिपय स्थानका मानिसहरूले रुखमा चढेर ज्यान जोगाएका छन् । त्यस्ता कतिपय व्यक्तिलाई उद्धार गरेको रेडक्रसले जनाएको छ । आँधीले विद्युत्त सेवा अवरुद्ध बनेका छन् भने सञ्चारसम्पर्क विच्छेद भएको छ । सडक भाँसिएका छन् । यद्यपि, हवाई उडानहरु भने सुचारु अवस्थामा छन् । बिहीबारदेखि नै आँधीले ताण्डव मच्चाए पनि सहयोगकर्ताहरू भने निकै ढिलो गरी आइतबार मात्रै प्रभावित क्षेत्र पुगेका छन् ।