साफ महिला च्याम्पियनसिप : शानदार जितसँगै नेपाल फाइनलमा

साफ महिला च्याम्पियनसिप : शानदार जितसँगै नेपाल फाइनलमा

विराटनगर, चैत ६
नेपाली महिला राष्ट्रिय फुटबल टोली पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको सहिद रंगशालामा भएको सेमिफाइनलमा श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालको यो चौथो फाइनल यात्रा हो ।

पहिलो हाफमा केही खस्केको खेल भएपनि नेपालले दास्रो हाफ आक्रामक खेलेको थियो । पहिलो हाफको अन्त्यतिर पुनम जर्घामगरले गोल गरेपछि नेपालले अग्रता लिएको थियो । निरु थापाले दिएको एक्रोब्याटिक पासमा सावित्रा भण्डारीको हेडरले पोस्टको दिशा लिन नसक्दा पुनमले ६ यार्ड बक्स भित्रबाट गोल गरेकी हुन् ।

खेलको दोस्रो हाफमा नेपालले आक्रमक खेल प्रस्तुत गर्दै ३ गोल थप्यो । ७३ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै अग्रता दोब्बर पारिन् । विपक्षी गोलकपिरबाट रिबाउन्ड भएको बलमा अनिताले गोल गरेकी थिइन् । जारी प्रतियोगितामा अनिताको यो पहिलो गोल हो ।

८२ औं मिनेटमा सावित्रा भण्डारीले तेस्रो गोल गरिन् । उनले अनिताको क्रसमा पेनाल्टी क्षेत्रभित्रबाट हेडरमा गोल गरेकी हुन् । परिवर्तित खेलाडी रेखा पौडेलले ८६ औं मिनेटमा गोल गर्दै नेपालको अग्रतालाई ४–० बनाएकी थिइन् । अनिताले प्रहार गरेको बललाई रोक्दै रेखाले गोल गरेकी थिइन् । रेखा ६५ औं मिनेटमा कप्तान निरु थापाको ठाँउमा मैदान प्रवेश गरेकी थिइन् ।

नेपालले शुक्रबार हुने फाइनलमा भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनल भारत र बंगलादेशबीच आजै ३ः०० बजे सुरु हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.