काठमाडौं, माघ ७
नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक आइतबार बस्दै छ । बैठक अपराहन्न ३ बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्नेछ ।
बैठकले पार्टी एकता टुंगो लगाउनका लागि कार्यदल गठन गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । राष्ट्रियसभा चुनावको तयारीका लागि कार्यदल गठन गरेका दुई दलले अब बैचारिक र सांगठनिक विषय टुंगो लगाउन अर्काे पनि कार्यदल गठन गर्ने तयारी गरेका छन् ।
आइतबारको बैठकको पूर्वतयारीअनुसार शनिबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि प्रचण्डले आइतबारको बैठकबाट महत्वपूर्ण निर्णय हुने बताएका थिए ।