तनहुँ : स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका बेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्ने हुन्छ । धेरैले नियमित पढाइ नै छुटाउँछन् । यहाँसम्म कि ४/५ दिन घरमै बस्नुपर्ने अवस्थासमेत आउने गरेको आदिकवि भानुभक्त क्याम्पसकी बीआईसीटीमा अध्ययनरत छात्रा अस्मिता अधिकारी बताउँछिन् ।
भन्छिन्, ‘स्कुल होस् वा क्याम्पसमा पढिरहेका बेला महिनावारी भइहाल्यो भने बीचमै छोडेर हिँड्नुपर्ने अवस्था छ ।’ अचानक महिनावारी भइहाल्यो भने सेनेटरी प्याड सहज रुपमा नपाइनाले छात्राले बीचमै पढाइ छाड्छन् । महिनावारी भएका ३/४ दिन नियमित पढाइ छुटाउँछन् ।
विद्यार्थी संख्याको ८० प्रतिशत छात्रा अध्ययन गर्ने तनहुँको व्यास नगरपालिका–१ भादगाउँको आदिकवि भानुभक्त क्याम्पसमा पनि यस्तै समस्या देखिन थालेपछि सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन जडान गरिएको छ ।
विभिन्न संघसंस्थाको सहयोगमा आधुनिक सेनेटरी न्याप्किन भेन्डिङ मेसिन जडान गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खले बताए। ‘क्याम्पसमा दुई हजार तीनसय हाराहारी विद्यार्थीमध्ये एक हजार ६ सयजति छात्रा छन्’, उनले भने, ‘अधिकांशले महिनावारीका वेला पढाइ छुटाउने गरेका छन्।
उक्त मेसिनमा दुई रुपैयाँको सिक्का हालेपछि सेनिटरी न्याड निकाल्ने व्यवस्था मिलाइएको छ । , यो समाचार आजको कान्तिपुर दैनिकमा सम्झना रसाइलीले लेखेकी छिन् ।