महानगरको खाद्य अनुसन्धान ल्याब प्रयोगविहीन, लाखौका उपकरणमा जालो लाग्यो

२५ बैशाख ७६, बिहीबार

विराटनगर, वैशाख २६
लाखौ रुपैयाँ खर्च गरेर सञ्चालनमा ल्याइएको विराटनगर महानगरपालिकाको खाद्य अनुसन्धान ल्याब उपयोगविहीन अवस्थामा रहेको पाइएको छ । विराटनगर महानगरपालिकामा खाद्य अनुसन्धान शाखा रहेपनि कर्मचारी अभावमा ल्याब लथालिंग बनेको छ । महानगरको बेवास्ताका कारण खाद्य परीक्षणका उपकरण यतिबेला धुलो र माकुराको जालोले जेलिएका कारण कवाडीमा परिणत हुने खतरा बढ्दै गएको छ ।

Advertisement

तत्कालीन विराटनगर उपमहानगरपालिकाले बजारको खाद्य वस्तु अनुगमन र गुणस्तरीयता परिक्षणका लागि ल्याब स्थापना गरेको थियो । तर, अहिले जनपतिनिधिहरु निर्वाचित भएर आइसकेको अवस्थामा पनि सो ल्याब नाम मात्रको बनेको छ । खाद्य अनुसन्धान शाखाभित्रको ल्यावमा खाद्य वस्तु परीक्षणका लागि आवश्यक विभिन्न उपकरण रहेपनि त्यसको सदुपयोग हुन सकेको छैन ।

महानगरपालिकाले ल्याब सञ्चालनका लागि ध्यान नदिँदा त्यहाँ रहेका लाखौँ रुपैयाँ मूल्यका उपकरणहरु दिन प्रतिदिन जिर्ण बन्दै कबाडीमा परिणत हुँदै जाने खतरा बढेको देखिन्छ । बजारमा दिनहुँजसो अखाद्य वस्तुहरु विक्रि वितरण गर्ने गरेको नगरवासीहरुको वारम्वार गुनासा आइरहेपनि ल्याब मार्फत खाद्य वस्तु परीक्षणमा महानगरको ध्यान गएको छैन । हाल ल्याबमा रहेका विभिन्न परीक्षण उपकरणहरु धुलो र माकुराको जालाले जेलिएका छन ।

Advertisement

त्यति मात्र होइन दराजमा राखिएका उपकरणहरुसमेत अब कवाडी सामानका रुपमा परिणत हुन लागेका छन । अहिले खाद्य अनुसन्धान शाखामा एक जना कर्मचारीहरु समेत छैनन । सो शाखामा प्राविधिकका रुपमा काम गर्दै आएका धिरज राईलाई प्रमुख प्रशासकिय अधिकृतको स्वकीय सचिव बनाइएपछि अझ सो ल्याब लथालिंग बनेको छ । उनै राईले वेलावेलामा उक्त शाखा हेर्ने गरेको महानगरपालिकाले जनाएको छ । खाद्य अनुसन्धान शाखाका कर्मचारी राईले कर्मचारी अभावमा आफुले मात्रै नभई अन्य कर्मचारीहरुले समेत थुपै शाखाका कामहरु गरिरहनुपरेको बताए ।

यता विराटनगर महानगरपालिकाले भने कर्मचारी अभावमा सो ल्याब सञ्चालन गर्न नसकिएपनि सञ्चालनको तयारी गरिरहेको दावी गरेको छ । विराटनगर महानगरपालिकाका प्रबक्ता राजेन्द्र प्रधानले महानगरको ल्याब सञ्चालनमा नरहेपनि नापतौल तथा गुण नियन्त्रण कार्यालय, मोरङ व्यापार संघको समन्वयमा खाद्य वस्तुको परीक्षण र अनुगमन गरिरहेको दावी गरे । उनले स्थानीय सरकार स्थापना भएपछि हाल सम्म कर्मचारी समायोजन भएर आउनेक्रम जारी नै रहेकाले विस्तारै ल्याबलाई व्यवस्थित गरिने बताए ।

Advertisement

उपभोक्त अधिकारकर्मीहरुले भने विराटनगर बजारमा अखाद्य र मिसावटयुक्त खाद्य वस्तुहरु विक्रि वितरण भइरहेपनि ल्याबको सदुपयोग हुन नसक्नु नगरवासीहरुका लागि दुःखद भएको बताएका छन । उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले लाखौँ रुपैयाँ खर्च गरेर स्थापना गरिएको ल्याब जनप्रतिनिधि रहँदाको अवस्थामा पनि सञ्चालन नहुनु विराटनगरवासीका लागि दुःखद विषय भएको बताए ।

सो ल्याबलाई खाद्य वस्तु परिक्षण योग्य बनाएर सञ्चालनमा ल्याइए जुनसुकै समयमा पनि खाद्य वस्तु परिक्षण गर्न सकिने छ । परीक्षणका लागि महानगरले अरुको मुख ताक्नुपर्ने छैन ।उपकरण संचालनमा आए अखाद्य वस्तुको उपयोग र मिसावटयुक्त खाद्य वस्तु नियन्त्रण भई नगरवासीको स्वास्थ्य माथिको खेलवाड पनि बन्द हुने थियो । यसर्थ यस तर्फ विराटनगर महानगरपालिकाको ध्यान जान जरुरी देखिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top