काठमाडौं, बैशाख २७
सभामुख कृष्णबहादुर महराले मंगलबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीले बोल्ने क्रममा प्रयोग गरेका अमर्या्दित भाषा रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
सभामुख महराले शुक्रबारको बैठकमा बैशाख २४ गते मंगलबार बसेको प्रतिनिधि सभामा आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीले जवाफ दिँदा र प्रतीपक्षीले प्रश्न सोध्ने क्रममा प्रयोग गरेका अमर्या्दित शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।
बैठकको सुरुमै सभामुख महराले भने, ‘नेपाल सरकारको नीति तथा कार्यक्रमबारे मान्य प्रधानमन्त्रीज्यूले स्पष्टिकरण तथा मान्य सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका अमर्या्दित शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन चाहन्छु ।’
मंगलबार आर्थिक वर्ष ०७६र०७७ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसदमा उठेका आक्रोश, कुन्ठा र निम्छरा प्रश्नलाई छोडेर अन्य प्रश्नको जवाफ दिन्छु’ भनेपछि कांग्रेसले संसद अवरोध गरेको थियो । यद्यपी सरकारले कांग्रेसको अवरोधकाबीच आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरिसकेको छ ।