विराटनगर–५ स्थित बिराट बहिरा माध्यमिक विद्यालयले भवन बिस्तार गर्ने भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको ४५ लाख र विद्यालयको आफनै ४ लाख ६५ हजारको लागतमा भवन बिस्तार गर्न लागेको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा भवन निर्माणका इन्जिनियर प्रकाशभक्त जोशीले जानकारी दिए । उनले ४ वटा कक्षाकोठा, एउटा लाइबेरी, साइन्स ल्याब, ड्रइङ हल, शौचालय र बाथरुम ३२ सय स्क्वाएर फिटमा निर्माण गरिने बताए । कक्षा १० सम्म प्राविधिक विषयमा अध्ययन भैरहेको अहिलेको मूल भवनको दोस्रो तलामा थप कक्षाकोठा बिस्तार गर्न लागिएको विद्यालयले जनाएको छ ।
बोल्ने, सुन्ने क्षमता नभएका बालबालिकाहरुलाई सांकेतिक माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विराट बहिरा माविले अध्ययन अध्यापनका लागि कक्षा कोठाको अभाव हुन थालेपछि विद्यालयको दोस्रो तलामा भवन बिस्तार गर्ने भएको हो । भवनको शिलान्यास गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले हाल विद्यालय १० कक्षासम्म संचालनमा रहेको भन्दै प्लस टु गर्दे उच्च शिक्षा बिस्तारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश १ को नमूना विद्यालय बनाउन लाग्ने बताउदै उनले प्रदेश सरकार ऐन, नियम निर्माणको चरणमा रहेकाले सांकेतिक भाषाको विकास र विस्तारका लागि लाग्ने बताए । कार्यक्रममा प्रदेश १ सभाका नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विद्यालयमा आवाससहितको उच्च शिक्षा अध्ययनको थलोको रुपमा यही आउदो बजेटमा पार्न प्रदेश सरकारलाई आग्रह गरे । विद्यालयमा प्रारम्भिक बाल कक्षासहित कक्षा १ देखि १० सम्म नियमित कक्षा तथा प्राविधिक तर्फ कक्षा ९ र १० मा सिभिल इन्जिनियरिङको कार्यक्रम संचालनमा रहेको छ । हालसम्म १० वटा ब्याचका १ सय ३६ जना बहिरा विद्यार्थीहरुले शतप्रतिशत नतिजासहित एसएलसी, एसइइ परीक्षा उर्तिण गरीसकेको विद्यालयले जनाएको छ ।