६ असार, विराटनगर ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले महिलाका विषयमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति प्रदेश–१ सांसदले सरकारको ध्यानाकर्षण गराइएका छन् ।
प्रदेशसभाको शुक्रबारको बैठकमा कांग्रेसकी सांसद बिन्दिया कार्कीले चौधरीले महिलाको कार्यक्रममा महिलाप्रति दिएको अभिव्यक्ति निन्दनीय भएको बताईन् । मेयरले जथाभावी बोलेर महिलाको चरित्र हत्या गरेको भन्दै इटहरीको मेयर नेकपाले डामेर छाडेको साँढे हो ? भन्दै प्रश्न गरिन् । शून्य समयमा बोल्दै सांसद कार्कीले मेयर चौधरीले पहिलो आक्रमण पत्रकारमाथि गरेको र केही कारवाही नभएपछि फेरि आँट पाएर महिलामाथि अभद्र शब्द प्रयोग गरेको बताईन् । सांसद कार्कीले मेयरले जे गरे पनि जे बोलेपनि सत्तापक्षले केही नगरेकोले नै एउटै शब्द २९ पटक दोहोर्याएर महिलाको विषयमा जथाभावाी बोलेको भन्दै सरकारको ध्यानाकर्षण गराईन् । उनले कि त मेयर चौधरीलाई पागलखानामा भर्ती गर्नुपर्ने नत्र कठालोमा समाएर महिलाले घिसार्नुपर्ने बताईन् ।
चौधरीले एउटा सार्वजनिक कार्यक्रममा महिलालाई ‘रन्डी’ भन्ने शब्द प्रयोग गर्दै ‘रन्डीकै कारण पिल्स, लिपिस्टिक र कन्डम’ बिक्ने गरेको अभिव्यक्ति दिएका थिए । उनले ‘रन्डी जिन्दावाद’ भन्ने नारा पनि लगाएका थिए ।