गद्दी बैठक सर्वसाधारणले अवलोकन गर्नका लागि खुला गर्ने तयारी

गद्दी बैठक सर्वसाधारणले अवलोकन गर्नका लागि खुला गर्ने तयारी

काठमाडौँ : वसन्तपुरस्थित गद्दी बैठक सर्वसाधारणले अवलोकन गर्नका लागि खुला गरिने भएको छ । गद्दी बैठक खुला भएपछि शुल्क तिरेर अवलोकन गर्न पाइने छ ।

हाल इन्द्रजात्राका दिनमा मात्र गद्दी बैठक प्रयोगमा आउने गरेको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले प्रयोजनविहीन अवस्थामा राखिरहनुभन्दा इन्द्रजात्राका दिनबाहेक सर्वसाधारणका लागि खुला गर्नु उपयुक्त हुने बताउँदै भने, “आगामी इन्द्रजात्राभन्दा अगाडि अवलोकनका लागि खुला गर्ने योजना बनाएका छौँ । ”

गद्दी बैठक तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा बनेको हो । २०७२ सालको भूकम्पले क्षति पु¥याएको गद्दी बैठकलाई अमेरिकी सहयोगमा सबलीकरण गरिएको थियो ।

दुईतले भवनमा सबैभन्दा तल्लो तला खाली छ भने माथिल्लो तलामा गद्दी बैठक छ । कुनै समयमा नेपालस्थित विदेशी राजदूतले गद्दी बैठकमा आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्ने गर्दथे । विभिन्न उत्सवमा त्यहाँ पुगेका राष्ट्र प्रमुखहरूको सत्कारदेखि सुरक्षासम्मको प्रबन्ध गृह मन्त्रालयले गर्दै आएकोले अहिले पनि त्यहाँ गृह मन्त्रालयका दुई जना कर्मचारी खटिएका हुन्छन् ।

गद्दी बैठकमा खटिएका एक जना धोबी र एक जना बैठके दरबन्दीका कर्मचारी गृह मन्त्रालयअन्तर्गतका कर्मचारी हुन् । हनुमानढोका दरबारका कर्मचारीले प्रयोगमा नरहेको गद्दी बैठक र तल्लो तलाको सरसफाइ प्रत्येक साता गर्दै आएका छन् । गद्दी बैठकको ठीक पूर्वतर्फको भवनमा पहिले तेजारथ र मुलुकी खाना थियो । ,यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.