११ असार, २०७६ ।
नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानमा संलग्न केन्द्रीय प्रतिनिधिहरुसंगको छलफल सुरु गरेको छ ।
कांग्रेसले पदाधिकारी, पुर्वपदाधिकारी र केन्द्रीय सदस्यसहित जागरण अभियानका केन्द्रीय प्रतिनिधिसंग छलफल गर्न लागेको हो । छलफल र अन्र्तरक्रियाबाट प्राप्त सल्लाह सुझाव पार्टीको सुदृढीकरणका लागि अगाामी रणनीति तय गर्न फलदायी हुने विश्वास पार्टी नेतृत्वले लिएको छ । पार्टी संगठनको सुदृढीकरणका लागि भन्दै कांग्रेसले बैशाख २५ देखि जेष्ठ २५ सम्म ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियन संचालन गरेको थियो । सो अभियानमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला गई १ महिना सम्म गरिएको कार्यक्रम, अन्र्तरक्रिया र प्राप्त कार्यकर्ताको धारणाबारे प्रतिनिधिले नेतृत्वलाई जानकारी गराउने छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल तथा अन्र्तरक्रियाको उद्घाटन सत्रलाई सम्बोधन गर्दे सभापति शेरबहादुर देउवाले जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावहरुबाट पार्टीलाई थप उर्जा मिल्ने विश्वास व्यक्त गरे । राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधि सिन्धुली जिल्ला सभापति श्याम घिमिरेले स्थानीय कार्यकर्ताले पार्टीमा सैद्धान्तिक सुधारको अपेक्षा राखेको बताए । उनीहरुले विशेष गरेर वर्तमान सरकारका असफलताको प्रतिकार गर्दे राष्ट्रिय राजनीतिलाई बदल्ने काममा पार्टीको भुमिका खोजेको उनले बताए । त्यसैगरी पार्टीभित्रको अन्तरघात र गुटबन्दीको अन्त्य, समयमा नै भातृसंगठनको अधिवेशन लगायत आन्तरिक सुधारको पनि अपेक्षा कार्यकर्ताले राखेको उनले बताए ।
विहिबार सम्म चल्ने अन्र्तरक्रियामा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले जिल्लामा भएका गतिविधि, संठनात्मक अवस्था, १ महिने राष्ट्रिय जागरण अभियान अन्र्तगत भएका कार्यक्रम र त्यसबाट प्राप्त परिणामहरुको साथै त्यसले पार्टीलाई पार्ने वर्तमान र दुरगामी असर बारे नेतृत्वलाई जानकारी गराउने छन् ।