नारायणगढ–मुग्लिन सडकमा यातायात रोकेर काम गरिने

नारायणगढ–मुग्लिन सडकमा यातायात रोकेर काम गरिने

चितवन, माघ १३
नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी .साधन रोकेर काम गरिने भएको छ ।

रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एक महिना सवारी साधन रोकेर काम गरिने प्रजिअ नारायणप्रसाद भट्टले बताए ।

यसअघि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म गाडी रोकेर काम गरिँदै आएको थियो । गत वर्ष बिहान १० बजेदेखि ४ बजेसम्म गाडी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएकाले स्थानीय प्रशासनसँग दिउँसो नै सडक रोकेर काम गर्न माग गरिँदै आएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अपराह्न सवारी साधन रोक्ने ठाउँ तय गरेको छ । कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा तथा बस र साना सवारी साधनलाई जुगेडी र दासढुंगामा रोकिने छ ।

काठमाडौँबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेबाटारमा रोकिने छ ।
पोखरातर्फबाट आउने बस र साना सवारी साधनलाई बेनीटार र ट्रकलाई आँबुखैरनीमा रोकिने उनले बताए ।

हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न भई १४ दशमलव सात किमी सडक कालोपत्र भएको आयोजनाका इ शिव खनालले जानकारी दिए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.