एसइई उत्तीर्ण भन्छन्– प्राविधिक क्षेत्रमा जान विज्ञान पढ्छु

१५ असार ७६, सोमबार

१६ असार, कास्की।
एसइईको नतिजा सार्वजनिक भएसँगै यतिखेर प्राप्त जिपिएका आधारमा विद्यार्थीले कुन विषय पढ्ने भन्ने धारणा बनाउन थालेका छन् । शैक्षिक यात्रामा फलामे ढोकाका रुपमा लिने गरिएको एसइईमा प्राप्त नतिजाले सामान्यतः जो कोहीको भाग्य र भविष्य निर्धारण गर्ने कुरामा दुई मत छैन । यसैको जगमा टेकेर अभिभावकले पनि आफ्ना बालबच्चाको शैक्षिक उन्नयनका लागि गरिने लगानी तय गर्ने गर्दछन् ।

Advertisement

सरकारले विगतमा कक्षा १० सम्मलाई विद्यालय शिक्षा मानी उक्त कक्षा उत्तीर्ण गरेपछि एसएलसी परीक्षा लिने गर्दथ्यो । तर पछिल्ला केही वर्षयता भने विद्यालय शिक्षा बढाएर कक्षा ११ र १२ सम्म कायम गरी कक्षा १० पछि एसइई परीक्षा लिन थालियो ।

यसअघि अङ्क र प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिन्थ्यो भने हाल आएर प्राप्त जिपिएका कारण अक्षराङ्कन प्रणाली लागू गरिएको छ । अक्षराङ्कनअनुसार ‘ए’ र ‘ए प्लस’ ल्याउने अधिकांश विद्यार्थीको रोजाइ विज्ञान विषय भएको छ ।
विज्ञान अध्ययन गरेसँगै कक्षा ११ र १२ उत्तीर्ण गरेपछि जुनसूकै क्षेत्रमा जान सकिने भएकाले उक्त विषय विद्यार्थीको रोजाइमा पर्ने गरेको हो । पछिल्लो समयमा उच्च शिक्षामा प्राविधिक विषयतर्फ विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै गएको पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख गङ्गा गुरुङले बताइन् ।

Advertisement

उनका अनुसार विज्ञान विषय पढेपछि डाक्टर, इञ्जिनीयरलगायतका प्राविधिक विषयका साथै अन्य सबै क्षेत्रमा अध्ययनको बाटो खुल्ने भएकाले पनि यसतर्फको आकर्षण बढेको हो । एसइई नतिजाको प्राप्त तथ्याङ्कले निजी विद्यालयका तुलनामा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिए पनि केही सामुदायिक विद्यालयमा भने विद्यार्थीले राम्रो नतिजा हासिल गरेका छन् ।

कास्कीको सरस्वती टीका माध्यमिक विद्यालय भरतपोखरीका विद्यार्थी सुकृतप्रसाद तिवारीले यस वर्षको एसइई परीक्षामा ३.८५ जिपिए प्राप्त गर्नुभएको छ । उहाँसँगै विद्यालयबाट आठ जना विद्यार्थीले ए प्लस ल्याउन सफल भए भने ३० जना विद्यार्थीले ए ल्याएका छन् ।

Advertisement

विद्यालयबाट उत्कृष्ट जिपिए ल्याएका तिवारीले काठमाडौँमा विज्ञान विषयमा कक्षा ११ र १२ पढ्ने गरी आफ्नो तयारी थालिसकेका छन् । सामुदायिक विद्यालयतर्फ सीमित साधनस्रोत र पारिवारिक अवस्था सामान्य हुनुका बाबजुत पनि केही विद्यार्थीले ल्याएको नतिजा सन्तोषप्रद छ नै, अरुका लागि पनि अनुकरणीय बनेको छ । कास्कीकै अन्नपूर्ण गाउँपालिका लुम्ले चन्द्रकोटस्थित सङ्गम माविकी सुस्मिता देवकोटाले ३.३ जिपिए ल्याएकी छिन् ।

सामान्य परिवार र विद्यालयको अत्यन्त सीमित साधनस्रोतका कारण पनि देवकोटाले ल्याएको नतिजा यस क्षेत्रकै लागि उत्साहप्रद एवं प्रेरणादायी रहेको स्थानीय सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले बताए ।

भविष्यमा डाक्टर बन्ने सपना देखेकी सुस्मिताले कक्षा ११ र १२ मा विज्ञान विषय लिएर पढ्न लागेको धारणा राखे । ‘कक्षा ११ र १२ सकेपछि एमबिबिएस पढी डाक्टर बन्ने धोको छ,’ उनले भने, ‘पछि एमबिबिएस पढ्न सजिलो हुने भएकाले विज्ञान विषय लिएर पढ्ने सोच बनाएकी छु ।’ वासुदेव पौडेल/रासस 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top