एजेन्सी, असार १६
तस्बिरबाट महिलाहरूको वस्त्र हटाएर नक्कली तस्बिर बनाउन मिल्ने दाबी गरिएको एउटा एपलाई निर्माताहरूले बन्द गरेका छन्। पचास अमेरिकी डलर मूल्य राखिएको डीपन्यूड एपमाथि मदरबोर्ड नामको वेबसाइटमा लेख छापिएपछि यसको आलोचना भएको थियो।
रिभेन्ज पोर्न अर्थात् प्रतिशोधको भावनाले अन्य व्यक्तिको नग्न तस्बिर वा भिडिओ वेबसाइटमा राख्ने कार्यविरुद्ध अभियान चलाएकाहरूले सो एपलाई ‘खतरनाक’ भनेका थिए।
निर्माताहरूले विन्डोज र लाइनक्समा चल्ने एपका लागि संसार तयार नभएको भन्दै वेबसाइटबाट यसलाई निकालेका् जनाईएको छ । एक जना निर्माताले ट्विटरमा लेखेका छन्, ‘यसको दुरुपयोगको सम्भावना धेरै बढी छ। हामी यसरी पैसा कमाउन चाहदैनौँ।’
निर्माता समूहले सो एप मनोरञ्जनका लागि केही महिना अगाडि बनाएको बताएका थिए। त्यसका लागि आर्टफिशल इन्टेलिजन्स अर्थात् यान्त्रिक चातुर्य प्रयोग गरिएको थियो।
सो सफ्टवेअर वेबसाइटमार्फत् दुई भर्जनमा उपलब्ध थिए। निस्शुल्क उपलब्ध भर्जनमा निर्माण गरिएको तस्बिरमाथि ठूलो वाटरमार्क हुन्थ्यो भने किनिएको भर्जनमा एउटा कुनामा ‘फेक’ लेखिएको सानो छाप हुन्थ्यो।(बीबीसी नेपालीबाट)