१६ असार, काठमाण्डौ ।
सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति प्रतिनिधिसभाका सांसदहरुले आपत्ति जनाएका छन् ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले सो विधेयक राष्ट्रको हित हुनेगरी नआएको भन्दै आपत्ति जनाएका हुन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सरकारले बाह्य ‘इन्टे«ष्ट’मा पारमाणविक भट्टी नेपालमा संचालन गर्नेसम्बन्धि विधेयक ल्याएको गम्भिर आशंका गर्दै मान्य नहुने अडान राखे । उनले युरोपियन मुलुकहरुका समेत पारमाणविक भट्टी हटाउने काम भईरहेका बेला नेपालमा त्यसको स्थापनाको आवश्यक्ता नरहेको पनि स्पष्ट पारे ।
सत्तारुढ नेकपाका सांसद भिम रावलले पारमाणविक भट्टी स्थापना गर्न ल्याइएको सो विधेयक राष्ट्रको हितमा नरहेको बताए । उनले सो सम्बन्धि कानुन बनाउँदा व्यापक अध्ययन गरेर मात्रै अघि बढाउन पनि सरकारलाई सचेत गराए । सांसद रावलले पारमाणविक भट्टी निजी क्षेत्रलाई खोल्न दिने सरकारको प्रस्तावप्रति पनि आपत्ति जनाए । रेडियोधर्मी सम्बन्धि कानुन बनाउन भने सरकारले ढिलाई गर्न नहुने सांसद रावलको भनाई छ । बैठकमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री डा. भरत प्रधानले पारमाणविक भट्टी नेपालको आवश्यक्ता नभएको बताए । उनले मुलुकलाई नै ध्वस्त पार्ने खालका आणविक भट्टी नेपालको हितमा नरहेको पनि बताए । डा. प्रधानले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोग नभएका कारण क्यान्सर जस्ता प्राणघातक रोग लाग्ने भएकाले सो सम्बन्धि कानुन निर्माण गर्न भने उपयुक्त हुने बताए ।
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक विद्यापति झाले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोगको अभावमा धेरैले क्यान्सर जस्ता रोगका कारण ज्यान गुमाउनु परेकाले त्यसको उचित प्रयोगका लागि आवश्यक कानुन बनाउन सरकारलाई सुझाव दिए । उनले रेडियोधर्मी पदार्थको प्रयोगलाई सुरक्षित बनाउन आवश्यक प्रविधि भित्र्याउने व्यवस्था पनि तत्काल गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।