ज्येष्ठ नागरिकले आफूले चाहेको ब्यक्तिलाई सम्पत्ति दिन पाउने ?

ज्येष्ठ नागरिकले आफूले चाहेको ब्यक्तिलाई सम्पत्ति दिन पाउने ?

९ साउन, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । काँग्रेस सांसद कँडेलले ज्येष्ठ नागरिकको सम्पत्तिमाथि सन्तानले हक दावी गर्ने कानुनी व्यवस्था पनि खारेज गर्नुपर्ने माग गरेका हुन् ।

बिहीबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धि विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले आफ्नो खुट्टामा आफै उभिने बनाउन पनि ज्येष्ठ नागरिकको सम्पत्ति माथि सन्तानले हक दावी गर्न पाउने कानुनी व्यवस्था खारेज गर्न उपयुक्त हुने तर्क गरे । सांसद कँडेलले युरोपतिर पनि ज्येष्ठ नागरिकको सम्पत्तिमाथि उसको सन्तानले हक दावी गर्ने कानुनी व्यवस्था नरहेको पनि स्मरण गराए ।

नेपाली काँग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पैतृक सम्पत्तिमा भने आफ्ना सन्तानले हक दावी गर्न पाउनुपर्ने बताए । उनले ज्येष्ठ नागरिकले आफूले आर्जन गरेको सम्पत्ति भने आफूलाई चाहेको व्यक्ति वा संस्थालाई दिन उपयुक्त हुने पनि बताए ।

यस्तै सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले असामान्य अवस्थामा रहेका ज्येष्ठ नागरिकको पालनपोषण गर्नेलाई सम्बन्धित स्थानीय तहको सहमतिमा उनको सम्पत्ति दिन सकिने कानुनी व्यवस्था गर्न उपयुक्त हुने तर्क गरिन् । सांसद पाण्डेले स्थानीय तहले असामान्य अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई पालनपोषण गर्नेलाई उनीहरुको सम्पत्तिको हकदावी गर्ने अधिकार दिनुपर्ने बताइन् ।

विधेयकमा सांसदहरुले ज्येष्ठ नागरिकलाई कम्तिमा ३ वर्ष पालनपोषण गर्नेले उनको सम्पत्तिमाथि हक दावी गर्न पाउने गरी संशोधन प्रस्ताव दर्ता गराएका छन् । सांसदहरुले अलपत्र परेका ज्येष्ठ नागरिकको सम्पत्ति स्थानीय सरकारले आफ्नो स्वामित्वमा ल्याई स्थानीय ज्येष्ठ नागरिकको हक हितका लागि परिचालन गर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.