१० साउन, विराटनगर ।
विराटनगर महानगरपालिका–१५ रानीमा भारतीय लहरीले बिहीबार साँझ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनापछि स्थानीयले प्रदर्शन गरेका छन् ।
प्रदर्शन पछि बिहीबार साँझ नेपाल–भारत सीमानाको रानी क्षेत्र अशान्त बनेको थियो । एनएल ०१ डी ३६९० नम्बरको लहरीले बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विराटनगर–१५ का २२ वर्र्षीय अमर सिंहको घटनास्थलमै मृत्यु भएको हो । दुवै सवारी साधन भारतबाट नेपालतर्फ आउँदै गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले जानकारी दिए ।
कर्कटपाता बनाउने कच्चापदार्थ बोकेको लहरीलाई मोटरसाइकलले ओभेरटेक गर्ने क्रममा दुर्घटना भएको खिउजुको भनाइ छ । शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर ल्याइएको छ । दुर्घटनापछि लहरीकाचालक भने फरार छन् । घटनाको विरोधमा स्थानीयबासिन्दाले रानी क्षेत्रमा प्रदर्शन गरेका छन् ।प्रदर्शनको क्रममा उनीहरुले दर्जनौँ सवारी साधन तोडफोड समेत गरेका छन् ।

रातीसम्म प्रदर्शन गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थितीलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । घटनास्थलमा ठूलो संख्यामा सशस्त्रप्रहरी समेत परिचालन गरिएको थियो ।