१० साउन, विराटनगर ।
लोहन्द्रा खोलाको बाढी पस्दा जहदा गांउपालिका ४ का विभिन्न टोलहरुमा क्षति पुगेको छ । बाढीका कारण सो वडाको रामचोक,शान्ति टोल, फुलटोल, सन्थाल बस्ती, सिसौबारी, जयरामपुर र कुशवाहा टोल लगायतका बस्तीहरुमा क्षति पुगेको छ ।
शुक्रबार बिहान आएको बाढीको पानी केहि घन्टा पछि निस्केर गएपनि बाढी पछि स्थानियको घरमा माटोको बाक्लो लेदो जमेको छ । बाढीको कारण उनिहरुको घरभित्रका सरसामानमा समेत क्षति पुगेको छ ।

सो वडामा रहेका १३ सय ७७ घरमध्ये ३ सय ५० घर बाढीबाट प्रभावित भएको वडाध्यक्ष जयनरथ गिरीले जानकारी दिए । उनंले तरकारीको पकेट क्षेत्रकोरुपमा समेत रहेको सो वडाका किसानहरुले बाढीका कारण भारी क्षति बेहोर्नु परेको जानकारी दिए ।
लोहन्द्रा खोलामा स्थायी तटबन्ध गर्न लामो समयदेखी माग गर्दै आएपनि सुनवाई नभएका कारण जहदा ४ का बासिन्दाले भारी क्षति बेहोर्नुपरेको उनको भनाई छ ।