१० साउन, विराटनगर ।
मृतकपक्षसँगको सहमतीपछि बिहीबार साँझदेखि तनावग्रस्त बनेको विराटनगर महानगरपालिका–१५ रानी क्षेत्रको अवस्था सामान्य बनेको छ । बिहीबार साँझ भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालक विराटनगर–१५ का २२ वर्षीय अमर सिंहको मृत्यु भएको विरोधमा स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेपछि अवस्था असामान्य बनेको थियो ।
कर्कटपाता बनाउने कच्चा पदार्थ बोकेको एन एल ०१ डी ३६९० नम्बरको लरीलाई ओभरटेक गर्ने क्रममा बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।
घटनाको विरोधमा सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दाले भारत तथा तेस्रो मुलुकबाट आयात भएका मालसामान लोड गरेर आएका २२ वटा मालबहाक सवारी साधन तोडफोड समेत गरेका थिए । तोडफोड गरिएका मध्ये आठवटा नेपाली नम्बर प्लेटका पेट्रोलियम ट्यांकर र १४ वटा भारतीय नम्बर प्लेटका सवारी साधन छन् ।
घटनाले उग्ररुप लिएपछि मृतक पक्षसँग स्थानीय प्रशासनका तर्फबाट शुक्रबार मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी लगायतले शुक्रबार वार्ता गरेका थिए ।
वार्तामा दुर्घटनापछि फरार रहेका लरी चालकको खोजी व्यापक बनाउने, कारबाही गर्ने, कानुन अनुसार मृतकका परिवारलाई क्षतिपूर्ति दिने तथा मृतकका पक्षबाट सुरु भएको आन्दोलन फिर्ता गर्ने सहमति भएको हो ।
सहमतिसँगै मृतकका परिवारले कोसी अस्पतालमा पोस्टमार्टम गरेपछि शव बुझेर आज दाहसंस्कार गरेका छन् । सहमतिपछि विराटनगर भन्सार कार्यालय आसपासमा भएको सबै खाले अवरोध हटेको र स्थानीय बासिन्दाले आन्दोलन फिर्ता लिएको मोरङ प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिए ।