२३ साउन, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको एक पोखरीमा मंगलबार १६ वटा बाँदर डुबेर मरेका छन् । चौतारा–साँगाचोकगढी नगरपालिका–१३ को महाकालेश्वर मन्दिर छेउको पोखरीमा हाम्फालेर बाँदरहरु मरेका हुन् ।
स्थानीय क्षेत्रबहादुर दुलालका अनुसार बाँदरको हुल सदाभन्दा अस्वभाविक तरिकाले चिच्याइरहेको सुनेर हेर्न जाँदा केही मरेर तैरिएको र केही छटपटाइरहेका थिए ।
उनले भने, ‘सधैंभन्दा अलि फरक तरिकाले बाँदरहरू चिच्याएको सुनेर पोखरीमा हेर्न पुगेँ।’ आफूले देख्दादेख्दै पनि डुबेकालाई बचाउने शैलीमा बाँदरहरू लगालग पानीमा हाम फाल्न थालेपछि होहल्ला गरेर गाउँले बोलाएको उनले बताए।
छिमेकी कुश्माखर दुलाल पनि सुरुमा त छक्क परे। त्यसपछि जम्मा भएका गाउलेले पोखरीमा हाम फाल्न ठिक्क परेका बाँदरको हुल धपाए। डुबेर छटपटाइरहेकालाई बाहिर निकाले। पोखरीमा डुबेर १६ वटा मरेको र ९ वटालाई बचाउन सफल भएको स्थानीयले बताएका छन् ।
स्थानीय कुलप्रसाद दाहालले भने, ‘९ वटालाई बचाउन सकियो। १६ वटा मरेछन्। अरुलाई धपाउन पनि गाह्रै भयो।’ घटनाले गाउँलेलाई अचम्मित पार्नुका साथै दुस्खी बनाएको उनले बताए। घटनापछि गाउँलेले तत्कालै प्रहरीलाई घटनाको जानकारी गराएको उनले बताए।