दशैँ अघिनै नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पाउने, स्वतन्त्र समिति केन्द्रीय चुनावको तयारीमा

साउन २६, काठमाण्डौ । नेपालमा क्रिकेटको आधिकारिक निकाय पुनःस्थापना गर्नका लागि आईसीसीले दिएको रोडम्याप अनुसार एकपछि अर्को रुपमा नेपाल क्रिकेट संघ(क्यान) को मातहतमा रहेका जिल्ला संघहरुको चुनाव भइरहेको छ ।

Advertisement

यस्तैमा ३९ मध्ये ३८ जिल्लाको चुनाव सम्पन्न भएको छ । आईसीसीले गठन गरेको स्वतन्त्र समितिको निर्देशनअनुसार नै यतिबेला विवादित बनेका केही जिल्ला संघहरुको चुनाव सम्पन्न भएको छ । जसमध्ये केही जिल्लामा पुरानै अनुहार देखिएका छन भने केहीमा नयाँ अनुहार आएका छन । अब जिल्ला स्तरमा चुनाव हुन बाँकी काठमाण्डौ मात्र रहेको छ ।

यसका साथै प्रदेशस्तरीय चुनावको काम पनि अगाडि बढिसकेको छ । जसमा प्रदेश एक, चार, र सातको चुनाव सम्पन्न भइसकेको छ । प्रदेश सातको अध्यक्षमा हरि रेग्मी र गण्डकी प्रदेशको अध्यक्षतामा देवेन्द्र प्रजु निर्वा्चित भइसकेका छन । यस्तैमा शनिबार भएको प्रदेश १ को चुनावले मिङ्मा डुन्डु शेर्पाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

Advertisement

अब एक जिल्ला र तीन प्रदेशको निर्वाचन बाँकी रहेका बेला केन्द्रीय चुनाव दशैँ अगाडि हुने देखिएको छ । स्वतन्त्र समितिका सदस्य एलबी क्षेत्रीका अनुसार केन्द्रीय चुनावका लागि भदौको अन्तिम वा असोजको पहिलो साताको मितिको तयारी भइरहेको बताएका छन् । उनले भदौमा भएमा २८ र २९ वा असोजमा भए ३ र ४ गते क्यानको केन्द्रीय चुनाव गर्ने तयारी भएका बताए ।

पछिल्लो तीन वर्षदेखि निलम्बनमा रहेको क्रिकेट संघलाई फुकुवा गर्न यो केन्द्रीय चुनावले ठूलो भूमिका खेल्नेछ । जिल्ला प्रदेश र केन्द्रको चुनापपछि नेपाली क्रिकेटले नयाँ नेतृत्व पाउनेछ । यता यो प्रक्रिया पूरा भएपछि आईसीसीले पनि नेपाली क्रिकेटको निलम्बन फुकुवा गर्ने ठूलो सम्भावना रहेको छ । निर्वा्चित नेतृत्वको पहिलो काम क्यानको निलम्ब र फुकुवा गर्नु नै हुनेछ ।

Advertisement

एकपछि अर्को रुपमा जिल्ला र प्रदेश स्तरको चुनाव भैरहँदा स्वतन्त्र समितिले भदौ १५ गतेसम्म प्रदेश र जिल्लाको चुनाव सक्न मिति तोकेको थियो । त्यहीअनुसार काम पनि भैरहेको छ ।

स्वतन्त्र समितिले क्यानसँग रहेका २० जिल्लाको चुनावलाई मान्यता दिएको थियो । सात जिल्लामा पुनः चुनाव गर्नुपर्ने आदेश दिएको थियो । तर उनीहरुले नयाँ सदस्यता भने बाँड्न नपाउने बताइएको थियो । यस्तै ६ जिल्लालाई नयाँ सदस्यता दिएर चुनाव गर्न भनिएको थियो भने ६ जिल्लाहरुलाई फेरि एक मौका दिने भनिएको थियो ।

स्वतन्त्र समितिले वर्गीकरण गरेको जिल्लाहरु

चुनाव सदर मानिएकाः बझाङ, बैतडी, अछाम, डडेल्धुरा, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, कपिलवस्तु, परासी, पाल्पा, कास्की, नवलपुर, रुपन्देही

सदस्यता नयाँ बाँड्न नपाउने गरी चुनाव गर्नुपर्ने जिल्लाः कैलाली, दाङ, चितवन, काठमाण्डौ, सप्तरी, चितवन, महोत्तरी र मोरङ

नयाँ सदस्यतासहित चुनाव गुर्नुपर्ने जिल्लाः ललितपुर, भक्तपुर, तनहुँ, उदयपुर, मकवानपुर, पर्सा

सदस्यता खारेज भए पनि मौका दिने भनिएका जिल्लाः भक्तपुर, ललितपुर, तनहुँ, उदयपुर, मकवानपुर र पर्सा

आईसीसीको निलम्बनमा परेपछि अभिभावकविहीन बनेको नेपाली क्रिकेट फेरि नयाँ मोडमा पुग्नेमा अब ठूलो आशा गरिएको छ । यसपटकको क्यानको नयाँ कार्यसमिति मात्र १७ जनाको हुनेछ ।

यसअघि सबैलाई समेट्नुपर्छ भनेर जम्बो कार्यसमिति राखिने र गुट उपगुट हुने गरेको थियो । नयाँ नेतृत्व चयनका लागि जुन किसिमले प्रक्रिया अगाडि बढिरहेको छ, त्यो हेर्दा फेरि एक पटक नेपाली क्रिकेटमा सुखद दिन आउलान् भन्ने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top