साउन ३०, काठमाडौं । विज्ञहरुले भुकम्पको दृष्टिले मुलुक टाईमबम माथि रहेको भन्दै समयमै आवश्यक पुर्व तयारी गर्न सरकारलाई सुझाएका छन् ।
विहिबार राजधानीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यशालामा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।
भुकम्पको जोखिमका दृष्टिले नेपाल विश्वमा ११ औ स्थानमा रहेको जानकारी हुदा हुदै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पुर्व तयारीलाई वेवास्ता गरिएको भन्दै विज्ञहरुले तत्काल पुर्व तयारी थाल्न सरकारलाई सचेत गराएका हुन् ।
विपद् व्यवस्थापक विज्ञ डाक्टर गंगाला तुलाधरले भूईचालोको दृष्टिकोणबाट नेपाल टाईमबम माथि रहेको भन्दै कुनै पनि बेला आईपर्न सक्ने विपद्को पुर्व तयारी सुरु गर्न ढिलाई गर्न नहुने बताए ।
नेपालको भौगर्भिक बनोटको साथै कोरिडोर सडकका नाममा नदी नाला मिचेर बनाईएका संरचना, इन्जिनियरिङ अध्ययन विनाको सडक निर्माण, अव्यस्थित र असुरक्षित बस्ती र शहर विस्तार लगायतले बाढी पहिरो जस्तो विपद निम्तने गरेको भन्दै उनले सुरक्षित बसोबासको प्रवन्ध मिलाउने तर्फ सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए ।
उनले विपदपछि खोज र उद्धारलाई भन्दा राहत वितरणलाई प्राथमिकता दिने गरिएको र तात्कालिक आवश्यकताका सूची अनुसार राहत वितरण हुन नसकेको गुनासो गरे । सरोकारवाला तथा सम्बन्धित निकायवीच समन्वय हुन नसक्दा तत्कालको राहत चाउचाउ र चिउरामा सिमित हुने गरेको टिप्पणी पनि उनले गरे ।
विपद्का बेला मानविय उद्धार पहिलो प्राथमिकता भएपनि त्यसो हुन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गरे । सामाजिक सञ्जालको बढ्दो प्रयोग संगै मानविय संवेदनशीलता पनि खतरामा परेको टिप्पणी उनले गरे ।
उनले विपद्को समयमा उद्धार गर्न छोडेर सेल्फि लिनेहरुको भीड लाग्नु दुखद भएको भन्दै पहिलो उद्धारकर्ताको रुपमा सबैले भुमिका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रमका सहभागीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना र पर्याप्त लगानी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।