९ भदौ, एजेन्सी ।
साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा आइतबार भएको खेलमा पीएसजीले टोलुसोमाथि ४–० को फराकिलो जित निकालेको हो ।
वैकल्पिक खेलाडी इरिक म्याक्सिम चुपो मोटिङले दुई तथा मार्किनेसले एक गोल गरे । पीएसजीले एक गोल उपहार पाएको थियो ।
पार्क डि प्रिन्सेस पेरिसमा आइतबार राति घरेलु टोलीले टोलुसोलाई खेलको सुरुवातदेखि नै लगातार दवावमा दिएको थियो । तर पनि गोलको लागि दोस्रो हाफ नै कुर्नु परेको थियो ।
१४औं मिनेटमा चोटग्रस्त एडिन्सन काभानीको स्थानमा मैदान छिरेको इरिक म्याक्सिमले ५०औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा आत्मघाती गोलबाट पीएसजी खेलमा २–० ले अघि बढ्यो । डि मारियाको क्रसमा पाब्लो सारावियाले फ्लिक गरेको बल म्याथ्यु गोन्कालभेसलाई लाग्दै गोलमा परिणत भएको थियो ।
७१औं मिनेटमा एन्जल डि मारिया पेनाल्टीमा चुक्यो । गोन्कालभेसले पेनाल्टी एरियामा डि मारियालाई लडाएपछि प्राप्त पेनाल्टीमा डि मारियाको प्रहारलाई गोलरक्षक बाप्टिस्टे रेनेटले बचाएका थिए ।
तर, ७५औं मिनेटमा इरिकले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । उनले जुआन बर्नाटको पासमा गोल गरेका थिए ।
खेल सकिन ७ मिनेट बाँकी रहँदा मार्किनेसले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए । जितसँगै पीएसजी ३ खेलबाट ६ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।