१३ भदौ, काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताएका छन् ।
नेपाल चेम्बर अफकमर्सले शुक्रबार काठमाडौमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आय आर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताएका हुन् ।
उनले देशका नागरिककालागि नागरिकता अनिवार्य विषय भए जस्तै सरकारले दिने सेवा सुविधा लिनका लागि पनि हरेकले कर दाता परिचयपत्र लिनुपर्ने बताए । उनले अनौपचारिक व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउनकालागि नै ढुवानी सेवामा मुल्यअभिवृद्धि कर लगाइएको स्पष्ट पारे ।
उनले ढुवानीका साधन एउटाको, मालिक अर्कै र व्यवसाय अर्कैले चलाउने अस्तव्यस्त आर्थिक कारोबार र व्यवसायलाई प्रणालीमा ल्याउनकालागि मुल्यअभिवृद्धि करको अर्को विकल्प नभएको बताए । उनले नीतिगत व्यवस्थाका कारण अन्तरदेशीय व्यापारलाई औपचारिक गराएर पनि व्यवस्थित गर्न नसकिएको बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सबै कामदारलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था नीजि क्षेत्रका लागि मान्य नहुने बताए । उनले ढुवानी सेवामा मुल्यअभिवृद्धि कर लगाउँदा दैनिक उपभोग्य वस्तुको मुल्य बढ्ने भएकाले आमउपभोक्तालाई प्रत्यक्ष असर परेकाले मुल्य अभविृद्धि करको दायरालाई हटाई सेवा कर लगाउने व्यवस्था गर्न आग्रह गरे ।
कार्यक्रममा उद्योगीहरुले कर सम्बन्धी सरकारले ल्याएको नयाँ व्यवस्थाले व्यवसाय र व्यवसायी दुवैलाई प्रभावित बनाएको गुनासो गरेका थिए ।

