२३ भदौ, काठमाडौं ।
सरकारले दसै, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा सहुलियत मूल्य पसल संचालन गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट टे«डिङ र दुग्ध विकास संस्थानले काठमाडौंको रामशाहपथस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विक्री कक्ष भवनमा दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सोमबारबाट ‘एकीकृत सहुलियत मूल्य पसल’ संचालनमा ल्याएको हो ।
कार्तिक १७ गतेसम्म संचालन हुने सो पसल देशको मुख्यमुख्य सहरमा पनि संचालन हुनेछन् । ती पसलहरुमा ध्यूमा प्रतिकेजी ५० रुपैयाँ छुटको व्यवस्था गरिएको छ भने पनिरमा प्रतिकेजी १० रुपैयाँ छुट गरिएको दुग्ध विकास संस्थानका नारायणप्रसाद ढुंगानाले जानकारी दिए ।
त्यसैगरी चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । चामल, दाल बोरामा १० रुपैयाँदेखि २० रुपैयाँसम्म छुट दिने व्यवस्था गरिएको पनि साल्ट ट्रेडिङका ब्रेजेशकुमार झाले जानकारी दिए ।
साल्ट ट्रेडिङले चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा ६ वटा सुपथ मूल्य पसल संचालनमा ल्याएको भने देशका मुख्यमुख्य सहरहरुमा गरी जम्मा ३४ वटा संचालनमा ल्याउने तयारी गरेको छ ।

