५ असोज, काठमाडौं । नक्कली जग्गाधनी प्रमाणपत्र पूर्जा राखेर बैंकबाट पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोप लागेका बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठसहित बैंकका कर्मचारी किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई शुक्रबार राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्युरो प्रमुख निरजबहादुर शाहीले बताए ।
दुई महिनाअघि श्रेष्ठसहित कर्मचारीको मिलेमतोमा नक्कली जग्गा धनी प्रमाणपत्र राखेर सुरेन्द्र श्रेष्ठको नाममा पाँच करोड कर्जा निष्कासन भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले उनीहरुमाथि बैंकिङ कसूरमा मुद्दा अभियोजन गर्ने तयारी गरेको छ ।