७ असोज, एजेन्सी । इन्डोनेसियाको पूर्वी प्रान्त पापुआमा प्रदर्शनकारीले स्थानीय शहरका भवनमा आगजनी गर्दा कम्तिमा २० जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् । प्रदर्शनमा सहभागीहरु अधिकांश हाइस्कूलका विद्यार्थी हुन् ।
स्थानीय शिक्षकले विद्यार्थीमाथि गरेको रंगभेदी टिप्पणीका कारण सोमबार प्रदर्शन भएको हो । आजगनी बाहेकका फरक घटनामा सोमबार नै पापुआको राजधानी जयपुरामा चारजनाको ज्यान गएको जनाइएको छ ।

पापुआमा यस्तो खालको हिंसा बारम्बार हुने गरेको छ । गएको अगस्टमा रंगभेदी टिप्पणीकै कारण हप्ता दिन भन्दा बढी समय तनावको अवस्था सिर्जना भएको थियो ।
इन्डोनेसिया सरकारले पापुआ र पश्चिम पापुआ गरी दुई प्रान्तमा विभाजित पापुआ इन्डोनेशियाको एकीकृत भाग बताउने गरेको छ । संयुक्त राष्ट्रसंघले पनि त्यसलाई मान्यता दिएको छ । तर पापुआका धेरै बासिन्दाले सो विचारसँग सहमति जनाउँदैनन् ।
नेदरल्याण्डसको उपनिवेशमा रहेको पापुआ सन् १९६१ मा स्वतन्त्र घोषित भएको थियो । तर सन् १९६९ मा विवादास्पद रुपमा इन्डोनेसियाले कब्जा गर्यो ।

संयुक्त राष्ट्रसंघको सुपरिवेक्षणमा जनमतसंग्रह भयो, जसमा मात्रै एक हजार पापुअन्सले भोट दिन पाए । सो इन्डोनेसियामा समाहित हुने पक्षमा परिणाम आयो । तर मात्रै एक हजार जनाको भोटले भएको निर्णय वैध नहुने अधिकांश पापुअन्सको भनाई रहँदै आएको छ । यहि कारण लामो समयदेखि सो क्षेत्रमा स्वतन्त्रताको अभियान चलिरहेको छ ।
हालसम्म पनि इन्डोनेसियाबाट स्वतन्त्र हुनका लागि आन्दोलन हुँदै आएको छ । गएको अगस्टमा स्थानीयमाथि भएको रंगभेदी मजाकले त्यसलाई बल प्रदान गरेको थियो । पापुआ क्षेत्रमा बसोबास गर्ने अधिकांश अफ्रिकन मुलका छन् । इन्डोनेसियाका मुल जाती मंगोलियन हो ।