२० असोज, काठमाडौं । दशैँको समयमा खानपानमा ध्यान नदिँदा मुटुसम्बन्धी समस्या देखिने भएकोले खानेकुरामा विशेष ध्यान दिन डाक्टरहरुले सुझाव दिएका छन् ।
४० वर्षभन्दा माथिका व्यक्तिलाई मुटुसम्बन्धी समस्या हुने सम्भावना धेरै हुने भएकाले खानेकुरा खाँदा आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्नुपर्ने डाक्टरको भनाइ छ ।
दशैँमा माछा, मासुका साथै जाँड, रक्सी पनि धेरै खाने चलन बढ्दै गएकाले मुटुको समस्या पनि बढ्ने जोखिम धेरै रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर रञ्जित शर्माले बताए ।
चिल्लो र बोसो धेरै भएका, तारेका र भुटेका खानेकुरा कम मात्र खाने र जाँड, रक्सी नखाने गरेर मुटुलाई बचाउन सकिने उनको भनाइ छ । दुई वा दुईभन्दा धेरै प्रकारका खानेकुरा एकैचोटी नखान पनि उनको सुझाव छ ।
मुटुसम्बधी समस्या भएकाहरुले मासु नै खान नहुने भन्ने नभएको तर स्वास्थ्य अवस्था हेरेर, खानाको सन्तुलन मिलाएर खान सकिने डाक्टर शर्माले बताए ।
रातो मासुले कोलेष्ट्रोल बढ्ने भएकाले सकेसम्म सेतो मासु खाने गरे मुटु बचाउन सकिने मुटु रोग विशेषज्ञ शर्माको भनाइ छ । धेरै जाँड, रक्सी खाँदा मुटुमा रगत जम्ने र हृदयाघात हुने सम्भावना रहने भन्दै उनले चाडपर्वको समयमा खानेकुरा ठिक्क मात्रै प्रयोग गर्न पनि आग्रह गरे ।