२५ असोज, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन्।
उनले बर्सेनि चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले नेपालमा चिनियाँ पर्यटकको निम्ति महत्वपूर्ण आकर्षण बन्ने र यसले चिनियाँ पर्यटकको बढोत्तरी हुने विश्वास व्यक्त गरे ।
मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको नेपाल भ्रमणको सन्दर्भमा गरिएको कुराकानीका क्रममा पर्यटनमन्त्री भट्टराईले २३ वर्षपछि चीनका राष्ट्र प्रमुखबाट हुन गइरहेको नेपाल भ्रमणले मुलुकको पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण अवसर भएको बताए।
पर्यटनमन्त्री भट्टराईले विश्वको बलियो अर्थतन्त्र र विश्व महाशक्ति राष्ट्रका रुपमा उदाएको चीनले लिने कुनै पनि नीति, कार्यक्रम र अख्तियारीले विश्वलाई नै प्रभावित पार्ने स्थिति बनिरहेको सन्दर्भमा त्यस्तो मुलुकका राष्ट्र प्रमुखको नेपाल भ्रमण गर्नु नेपाल र नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरे ।
“विश्वको अर्थतन्त्रमा, विश्वको सामरिक क्षेत्रमा र विश्व पर्यटन प्रवद्र्धनमा चीनको योगदान र भूमिका निर्णायक ठाउँमा पुगेको छ । त्यस्तो मुलुकको राष्ट्र प्रमुखको हैसियतले नेपालको भ्रमण गर्नु नेपाल र नेपालीका लागि गौरवको विषय हो ।
नेपालको तर्फबाट पटकपटक राष्ट्रप्रमुख र सरकार प्रमुखको चीनमा भ्रमण हुँदै आयो तर चीनको तर्फबाट यो तहको भ्रमण हुन सकेको थिएन अहिले भ्रमण हुनु हाम्रा लागि महत्वपूर्ण छ”, उनले भने ।
नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ पर्यटन क्षेत्र हो भन्ने सरकारको दृष्टिकोण रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले नेपालको कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई वार्षिक १० प्रतिशत वृद्धि गर्ने लक्ष्य लिएको बताए ।
पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षको समयमा चीनबाट कम्तीमा पनि पाँच लाख पर्यटक नेपालमा भित्र्याउने मिसनका साथ काम गरिरहेको उल्लेख गरे। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ।