२८ असोज, काठमाडौं । १४ जना व्यक्तिको हत्या आरोपमा पक्राउ परेका मोहम्मद आफताब आलमलाई रौटहट जिल्ला अदालतले अनुसन्धान गर्न म्याद थप गरिएको छ ।
मंगलबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई अनुसन्धानका लागि सात दिन म्याद थप गर्ने अनुमति दिएको हो । आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते (आइतबार) रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो । बाह्र वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन् ।
हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ । आलम अदालतबाट दोषी ठहर भएमात्र उनी निलम्बनमा पर्नेछन् । साथै, अदालतले दोषी ठहर गरे उक्त पद रिक्त हुनेछ ।