२ कात्तिक, काठमाडौँ ।
क्याट क्विन्स काठमाडौंले वुमन्स च्याम्यिन्स लिग क्रिकेट टि–२० प्रतियोगिता दोस्रो जित निकालेको छ । शनिवार भएको खेलमा विराटनगर टाइटन्सलाई ५२ रनले पराजित गर्दै काठमाडौंले अघिल्लो चरणको संभावना बलियो बनाएको हो ।
काठमाडौंले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो ।विराटनगको लागि लक्ष्मी चौधरीले ५० बलमा ५ चौका सहित ४० रनमा अविजित रहिन् । इश्वरी विष्टले पहिलो ओभरको पाँचौ बलमा ओपनर ज्योती पाण्डेलाई ४ रनमा बोल्ड आउट गरेकी थिइन् । चौथो ओभरको दोस्रो बलमा अर्की ओपनर सोनु खड्का ५ रनमा रन आउट हुन पुगिन् ।
कप्तान सरिता मगरलाई सोमु विष्टले विकेटकीपर ममता थापाबाट नवौं ओभरको अन्तिम बलमा ३ रनमा क्याच आउट गराइन् । सोमु विष्टलेनै डोली भट्टलाई १३ रनमा विकेटकीपर ममताबाट क्याच आउट गराएपछि विराटनगरको जित कठिन बनेको थियो ।
अस्मिना कर्मचार्य ५ रनमा आउट भइन् । एसोदा बिष्ट ९ बलमा २ रन मात्र जोड्न सकिन् । काठमाडौंकी इश्वरी बिष्टले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्री र इश्वरी विष्टको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । काठमाडौंको लागि रोमा थापा ५३ रनमा अविजित रहिन् । रोमाले ५१ बलमा डब्लूसिएलमा आफ्नो पहिलो अर्ध शतक पुरा गरिन् । रोमाले ५२ बलमा ६ चौका प्रहार गरिन् ।
त्यस्तै कप्तान रुविना क्षेत्री २४ बलमा ३ चौका र १ छक्का सहित ३५ रनमा अविजित रहिन् । दोस्रो ओभरको पहिलो बलमै डोली भट्टले ओपनर शोभा आलेलाई २ रनमा एलवी डब्लू आउट गरेकी थिइन् ।अर्की ओपनर रश्मी चौलागाईं १३ ओभरको पाँचौ बलमा रन आउट हुनुअघि ४३ बलमा ४ चौका सहित ३४ रनको योगदान दिइन् ।विराटनगरकी डोली भट्टले १ लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
यो विराटनगरको पहिलो हार हो भने काठमाडौंको यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा विराटनगरले ललितपुर र दोस्रो खेलमा पोखरा पल्टनलाई पराजित गरेको थियो । त्यस्तै पहिलो खेलमा काठमाडौं चितवन राइनोजसँग पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा पल्टनलाई पराजित गरेको थियो । अन्तिम खेलमा विराटनगरले आइतबार चितवन राइनोजसँग खेल्ने छ भने काठमाडौंले आइतबार नै ललितपुर फाल्कोन्ससँग खेल्ने छ ।