४ कात्तिक,बिराटनगर।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अत्यन्तै दर्दनाक अवस्थाको बेवारिसे बेहोस बिरामीलाई सिरहाको लहानबाट उद्धार गरेको छ । लहान नगरपालिका–३ मा बेवारिसे अवस्थामा रहेका बिरामीलाई अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उद्धार गरेर नोबल अस्पताल ल्याई आईसियूमा राखेर निःशुल्क उपचार गराईरहेका छन् ।
लहान अस्पताल नजिक भेटिएका करिव ४० बर्षीय वेवारिसे पुरुषको अवस्था अत्यन्तै दर्दनाक थियो । उनको दाहिने खुट्टाको हड्डी पूर्ण रुपमा भाँचिएर घुँडा भन्दा मुनीको भाग छालाको भरमा मात्र झुण्डिएको छ । भाँचिएको खुट्टाको उपचार नपाउँदा घाउमा किरा परेर दुर्गन्ध फैलनुका साथै झिंगाले घेरेको थियो ।
धेरै दिनदेखि भुँईमा लडिरहेका उनको अवस्था अत्यन्तै दर्दनाक थियो । उठ्न र बोल्नसमेत नसक्ने अवस्थामा रहेका उनलाई उद्धार गरेर नोबेल ल्याईएको हो । लहान अस्पतालमा कार्यरत डा.बृजेन्द्र कुमार शाहले बेवारिसे बिरामीको अवस्था डा.सुनिल शर्मालाई जानकारी गराएर उनको उद्धारमा सहयोग गरेका थिए ।
गंभीर अवस्थामा रहेका उनलाई लहान अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नोबेल ल्याईएको हो । डा.शर्माले आपत र अलपत्र अवस्थामा परेका व्यक्तिलाई सहयोग गर्नु मानवीय कर्तव्य भएकाले सहयोग गरेको प्रतिक्रिया दिएका छन् ।