कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र

कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र

५ कात्तिक, खोटाङ ।

वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् ।

६ महिनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पु¥याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम र तलब नदिएपछि अलपत्र परेको पीडित युवराजले बताए । ‘चार महिनासम्म लेबरको काम लगायो’, उनले भने, ‘कम्पनीले सम्झौताविपरीत काम लगाए पनि तलबसमेत नदिएको र अहिले मेनोफ्युज सप्लाइ कम्पनीले भने खान र बस्न दिएर राखेको छ ।’

काठमाडौँको धुम्बाराहीस्थित टाईगर ओभरसिस मेनपावर कम्पनीमा प्रतिव्यक्ति रु ८० हजार बुझाएर उनीहरु कतार पुगेको पीडित युवराजका दाजु राजकुमार तामाङले बताए । ‘इलेक्ट्रिसियनको काम भनेर मेनपावर कम्पनीले सम्झौतापत्र देखाएपछि मैले नै सबैजनाको धरौटीबापतको रकम बुझाएको थिएँ’, उनले भने, ‘कतार पु¥याएपछि चार महीना लेबरको काम दियो र मासिक रु एक हजार १०० तलब दिने सम्झौता भए पनि उनीहरुले अहिलेसम्म एक पैसा पनि पाएका छैनन् ।’

चार महिनासम्म कम्पनीले तलब नदिएपछि दोहास्थित लेबरकोटमा उजुरी दिँदासमेत कुनै सुनुवाइ नभएको अलपत्र परेका युवाको गुनासो थियो । दुई महिनादेखि काम र शुरुदेखि नै दाम नपाएर अलपत्र बनेका आफूहरूललाई उद्धार गरेर नेपाल फर्काउन उनीहरुले सम्बन्धित निकायमा गुहार मागिरहेका छन् ।

उनीहरुलाई कतार पठाउने धुम्बाराहीस्थित टाईगर ओभरसिस मेनपावर कम्पनी अहिले बन्द रहेको पीडितका दाजु राजकुमारले बताए । ‘विसं २०७५ फागुन १४मा प्रवेशाज्ञाा आएको देखाउँदै धरौटी रकम बुझेर चार महीनापछि जेठ २३ गते उडायो’, उनले भने, ‘अहिले उनीहरू बसुन्धारामा राप्ती म्यानपावर कम्पनी खोलेर बसेका छन् ।’

उता मेनपावर कम्पनीका प्रबन्ध निर्देशक गोविन्द शिवाकोटीले भने उनीहरुले बिना कारण काम छाडेर बसेको बताए । ‘उनीहरुले कम्पनीसँग लेबरमै सम्झौता गरेर कतार गएका हुन्’, उनले भने, ‘अहिले काम छाडेर बसेका रहेछन् । सम्झौताअनुसारको काममा फर्किएमा वातावरण बनाउन सकिन्छ ।’

टिकट र प्रवेशाज्ञा निःशुल्क भएपनि सो मेनपावर कम्पनीले उनीहरुलाई प्रतिव्यक्ति रु ८० हजार रकम असुलेको र अधिकांश व्यक्तिसँग पनि यसैगरी धरौटीको नाममा रकम असुल्ने गरेको पीडितहरूको गुनासो थियो ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.