बानियाँको नाम समाचारमा जोडिएकोमा कांग्रेसको आपत्ति

बानियाँको नाम समाचारमा जोडिएकोमा कांग्रेसको आपत्ति

११ कात्तिक, काठमाण्डौ ।

नेपाली कांग्रेसले केही सञ्चारमाध्यमले ‘जुवा खालबाट पक्राउ’ सम्बन्धी समाचारमा बिनाआधार पूर्वगृहराज्यमन्त्री एवम पार्टीका नेता इन्द्रबहादुर बानियाँको नाम उल्लेख गरेको भन्दै आपत्ति जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सत्यतथ्य नबुझी कुनै पनि व्यक्तिको इज्जत प्रतिष्ठामा आँच आउने गरी समाचारमा नाम उल्लेख गर्नु दुःखद् भएको बताए । साथै उनले तथ्यमा आधारित भएर समाचार प्रकाशन गर्न आग्रह गरे ।

प्रवक्ता शर्माले यस्ता घटनाको कानूनी उपचारमा नजाने भए पनि सम्बन्धित व्यक्ति कानूनी उपचारमा जाने विषयलाई भने पार्टीले सकारात्मक रूपमा लिने बताए।

पत्रकार सम्मेलनमा प्रदेश नम्बर ३ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका बानियाँले सत्यतथ्य नबुझी समाचारमा नाम उल्लेख गर्दा आफ्नो चरित्रहत्या गर्ने काम भएको बताए ।

समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले कुनै सञ्चारमाध्यमको गल्ती र कमजोरीका कारण सम्पूर्ण सञ्चारजगत्ले नै विश्वास गुमाउने अवस्था सिर्जना हुने बताए। नेता बानियाँले सम्बन्धित सञ्चारमाध्यमलाई गल्ती सच्याउन आग्रह गर्दै अन्य सञ्चारमाध्यमले समेत सत्यतथ्य नबुझी सो समाचार नक्कल गरेकामा दुःख व्यक्त गरे।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.