१२ कात्तिक, काठमाडौं । दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाएका छन् ।
रानी पोखरीको बीच भागमा रहेका बालगोपालेश्वर मन्दिर भूकम्पले भत्काएकाले सो मन्दिरको मूर्ति बाहिरै बसेर मंगलबार भाईटीकाको दिन दिदीबहिनी नभएकाहरुले टिका लगाईरहेका हुन् । मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाईटीका लगाउने व्यवस्था राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मिलाएको छ ।
बिहान ७ बजेबाट सुरु गरिएको भाईटीका बेलुका साँढे सात बजेसम्म लगाउने मिल्ने व्यवस्था गरिएको छ । दिदीबहिनी नभएकाहरुले सो मन्दिरमा पुगेर भाईटीका लगाउने परम्परालाई हालसम्म पनि निरन्तरता दिइएको हो ।