१४ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले डायलासिस भइरहेको छ ।
बुधबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको आज दोस्रो पटक डायलासिस भइरहेको हो । उनको रगतमा पानीको मात्रा धेरै भएकाले रगतलाई शुद्ध बनाउन गरिने डायलासिस अन्तर्गत पर्ने अल्ट्रा फिल्ट्रेसन गर्ने काम भइरहेको उच्च स्रोतले जानकारी दिएको छ । उनको हिजो पनि अल्ट्रा फिल्ट्रेसन गरिएको थियो ।
अस्पतालका एक डाक्टरका अनुसार थप डायलासिस गर्नुपर्ने भएकाले प्रधानमन्त्री अझै केही दिन अस्पतालमै बस्नुपर्ने सम्भावना छ । उनका अनुसार प्रधानमन्त्रीको रगतमा क्रेटिनाइनको मात्रा बढी देखिएकाले थप डायलासिस गरिएको हो । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने प्रधानमन्त्री ओलीलाई आज बेलुकीसम्ममा घर लैजाने तयारी भएको बताए ।
ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक तथा ग्राण्डी अस्पतालको मृगौला विभाग प्रमुख प्राध्यापक दिव्या सिंंहले बुधबार विज्ञप्ति निकालेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र जाँचका रिपोर्टहरु आएपछि प्रधानमन्त्री ओलीलाई बुधबारै घर पठाइने बताएका थिए ।