१४ कार्तिक, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पकाउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ ।
संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महरा असोज १९ गते पक्राउ परेका हुन् । असोज २८ गते जिल्ला अदालत काठमाडौंले महरालाई पहिलो पटक पक्राउ परेदेखि १३ दिन थुनामा राख्न म्याद दिएको थियो । त्यस्तै प्रहरीको अनुसन्धान नसकिएपछि कार्तिक ३ गते फेरि पाँच दिनको लागि म्याद थपिएको थियो ।
अनुसन्धान सकिएपछि प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो । अभियोगपत्रमा महरालाई पाँच वर्षसम्म कैदको माग गरिएको छ । सँगै पदीय मर्यादा विपरित कार्य गरेकाले महरालाई थप सजायको माग भएको छ ।
उनलाई सरकारी उच्च पदाधिकारी भएकाले थप सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख गरिएको छ । अभियोगपत्रमा क्षतिपूर्तिकोसमेत माग गरिएको छ । मुद्दा दर्ता भएपछि महरालाई प्रहरीले फेरि थुनामा लगेको छ ।