५ मंसिर, काठमाडौँ ।
नेपालमा उर्जा क्षेत्रमा लगानी बढाउनका लागि काठमाडौमा उर्जा सम्मेलन सुरु भएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)ले ‘Powering the Asian Century’ भन्ने नारा सहित आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आर्थिक विकासका लागि उर्जाको विकास अनिवार्य भएको बताए । त्यसका लागि लगानी सुरक्षण गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए ।
अहिले ५ हजार मेगावाट विद्युत उत्पादन गर्ने परियोजनाहरुको निर्माणको काम भइरहेको बताउँदै देशभित्र कुल १ हजार ३ सय २० मेगावाट मात्र विद्युतको माग रहेको जानकारी दिए । त्यसैले सरकारको लक्ष्य अनुसार उत्पादन भएमा भारत र बंगलादेशको बजार महत्वपूर्ण हुने भनाई उनको थियो । मन्त्री पुनले उत्पादित विद्युत नेपालमा मात्रै खपत हुन नसक्ने भएकाले क्षेत्रीय विकासका लागि उर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।
इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले उर्जा क्षेत्रमा लगानी बढाउन र बजारको खोजी गर्न सम्मेलन प्रभावकारी हुने बताए । सम्मेलनमा क्षेत्रीय विद्युत् व्यापार, विद्युत् बजार, नियमन, वित्तीय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघियतामा ऊर्जा परियोजनाहरु सञ्चालन र सहजीकरण, ऊर्जामा लगानी तथा आयोजना प्रदर्शनी जस्ता विषयमाथि छलफल हुनेछ । सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, कयानडा, नर्वे लगायतका देशहरुबाट ७ सय भन्दा बढीको सहभागिता रहेको छ । सम्मेलन शुक्रबार सम्म चल्नेछ ।

