प्रधानमन्त्री अझै एक साता अस्पतालमै, काममा फर्किन १० दिन

प्रधानमन्त्री अझै एक साता अस्पतालमै, काममा फर्किन १० दिन

१३ मंसिर, काठमाडौं । शिक्षण अस्पताल महारजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली अझै एकसाता अस्पतालमै रहने चिकित्सकहरुले जानकारी दिएका छन् ।

शुक्रबार बिहान पत्रकार सम्मेलन गरी उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री दश दिनपछि नियमित काममा फर्कन सक्ने जानकारी दिएका हुन् ।

त्यस्तै चिकित्सकहरुले एपेन्डिसाइटिसको शलयक्रियापछि सघनकक्षमा उपचाररत प्रधानमन्त्री ओलीको मंगलबार र बुधबार दुईपटक डायलाइसिस गरिएको पनि जनाएका छन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीलाई मुखबाट ठोस खानेकुरा खुवाउन थालिएको समेत जानकारी दिए । प्रधानमन्त्री ओली समान्य हिंडडुल गर्न थालेको समेत डा. सिंहले बताइन् ।

उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरुले प्रधानमन्त्रीको एपेन्टिडसाइटिस फुटेको नभई पाकेर फैलिएको बताएका छन् । सामान्य बिरामीको तुलनामा अंग प्रत्यारोपण गरिएको बिरामीमा एपेन्डिसाइटिस पाकेर फैलने सम्भावना बढी हुने जानकारी चिकित्सकहरुले दिए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको छ । पछिल्लो पटक ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिँदै आएको थियो । अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै डायलाइसिस गरिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.