१४ मंसिर, धरान ।
शनिबार बिहान ७ बजेदेखि धरानको विभिन्न मतदान केन्द्रहरुमा मतदान शुरु भएको छ ।
धरान उपमहानगरपालिकामा मेयर पद र वडा नं ७ को वडाअध्यक्ष पदको लागि मतदान जारी छ । भोट खसाल्न मतदाताहरु बिहानै मतदान केन्द्रमा पुगेका थिए । धरानमा ११ स्वतन्त्रसहित २३ जना मेयरका प्रत्यासी छन् ।
यस्तै, वडा नं ७ मा ४ जना अध्यक्षका प्रत्यासी छन् । धरानको वडा नं १८, कार्मेल हाइस्कुलस्थित मतदान केन्द्रमा पुगेर आज बिहानै नेकपाका उम्मेदवार प्रकाश राईले मतदान गरे । सोही मतदान केन्द्रमा अर्का स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पनि मतदान गरेका थिए ।
धरानमा २८ मतदानस्थलमा ९९ मतदान केन्द्र रहेको छ । निर्वाचन कार्यालयका अनुसार कुल ९२ हजार ८ सय ५३ मतदाता छन् । यो अघिल्लो स्थानीयतह निर्वाचन २०७४ को भन्दा १३ हजार ५ सय ७१ बढी हो ।
२०७४ मा धरानको मतदाता संख्या ७९ हजार २ सय ८२ थियो । धरानका मेयर तारा सुब्बा र वडा नं ७ का अध्यक्ष भुवन मोक्तानको एक बर्ष कार्यकाल नबित्दै निधन भएपछि अहिले उपनिर्वाचन भइरहेको हो ।
मतदानको सुरक्षाको लागि तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार ७ सय ५० भन्दा बढी जनपद, ५ सय बढी सशस्त्र प्रहरी परिचालन भएको छ भने नेपाली सेनाको गस्ती टोली पनि परिचालन गरिएको छ ।